नुवाकोट आदर्श बहुमुखी क्याम्पस आर्थिक अनियमितताको जालोमा जेलिँदै

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १२:१५

बट्टार, कुनै समय नुवाकोट, रसुवा र धादिङ जिल्लाको एक मात्र उच्च शिक्षा अध्ययन गर्ने थलोको रूपमा पहिचान बनाएको नुवाकोट आदर्श बहुमुखी क्याम्पस अहिले केही व्यक्तिको हालीमुहालीले आर्थिक अनियमिततामा फस्टाउँदै गइरहेको छ । क्याम्पसको टिठलाग्दो अवस्था देख्दा स्थानीय समाजसेवी र शिक्षाप्रेमी चिन्तित हुन थालेका छन् । शिक्षण संस्थाजस्तो पवित्र क्षेत्र सत्ताको आडमा अनियमितताको शृङ्खला नरोकिनु विडम्बनाको विषय बनेको छ ।

क्याम्पसमा भए-गरेका अनियमितताको विषयलाई लिएर पाटन उच्च अदालतमा हालिएको रिट निवेदनको विपक्षमा फैसला भएपछि क्याम्पसलाई ठगी खाने भाँडो बनाउँदै आएका केही व्यक्ति अहिले नाङ्गिएका छन् । यो समूहले क्याम्पसमा आवश्यक नपर्ने कर्मचारी र प्राध्यापकलाई नियुक्ति गरी क्याम्पसलाई ठूलो आर्थिक भार थोपरिरहेका छन् । नियुक्ति गर्दा प्रक्रिया पु¥याउने भन्दै जनही दुई लाखका दरले असुल गरेको रकम मुद्दा जित्न खर्च गर्न यो समूहले कोष बनाएको क्याम्पसका प्राध्यापकले बताएका छन् । शिक्षक नियुक्ति गर्दा एकजनाभन्दा बढीको आवेदन पर्न नदिएको, निवेदन दिन चाहने योग्य व्यक्तिलाई वञ्चित गराएको, जनसङ्ख्याजस्तो विषयमा विद्यालयमा पठन-पाठन हुन छोडिसकेको र कसैलाई जागिर दिनकै लागि उक्त विषय राखिएको र क्याम्पसमा दक्ष जनशक्ति हुँदाहुँदै असक्षम शिक्षकलाई नियुक्ति दिएकोमा प्राध्यापकहरू सङ्गठित रूपमा विरोधमा उत्रिने तयारीमा छन् । राजनीतक आस्थाका आधारमा शिक्षक नियुक्ति गर्ने गरेको गुनासोसमेत बाहिर आएको छ ।

क्याम्पसमा अनियमितता र गैरकानुनी गतिविधिलाई मल, जल गर्न वर्तमान क्याम्पस प्रमुख नारायणमान डङ्गोल सक्रिय रहेको एक प्राध्यापकले नाम गोप्य राख्ने सर्तमा बताएका छन् । क्याम्पस प्रमुख डङ्गोल नेपाल सरकारको पेन्सन खाने सेवानिवृत्त कर्मचारी भएपनि क्याम्पसमा उनले स्थायी हुने, बढुवा हुने, सञ्चयकोष, नागरिक लगानी कोष कट्टा गर्ने सबै सुविधा लिँदै आएका छन् । जब कि नेपाल सरकारबाट सेवानिवृत्त कर्मचारीले करारबाहेक अन्य सुविधा लिएर पूर्णकालीन काम गर्न नपाउने कानुनी व्यवस्था रहेको छ । अझ चाखलाग्दो कुरा के छ भने उनले क्याम्पसमा सुरुको नियुक्ति लिँदा एमएडको तृतीय श्रेणीमा उत्तीर्ण भएको लब्धाङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेस गरेका छन् । त्रिविको विधान र क्याम्पसकै विधानले पनि तृतीय श्रेणीमा उत्तीर्ण हुनेलाई प्राध्यापन पेसा गर्न रोक लगाएको छ । तर, उनले पटक-पटक क्याम्पस प्रमुख पद प्राप्त गर्नका लागि सञ्चालक समितिका केही व्यक्तिलाई प्रभावमा पार्न सफल छन् ।

क्याम्पसमा हुने विज्ञापन, निर्माण कार्य, स्टेसनरी र सटर भाडामा पनि खरिद ऐनको धज्जी उडाएको क्याम्पसका संस्थापक अध्यक्ष वसन्तलाल श्रेष्ठले बताए । केन्द्रीय र सङ्घीय सरकारको अर्थमन्त्री नुवाकोटको भएकाले क्याम्पसका लागि राम्रै बजेट पार्न यो समूहको दौडधुप देख्दा क्याम्पसका शुभचिन्तक फेरि दुरुपयोग हुने चिन्ता गर्न थालेका छन् । क्याम्पसको भौतिक, शैक्षिक गुणस्तरका लागि बजेट ल्याउनेभन्दा पनि आफूअनुकूल खर्च गर्न पल्केको यो समूहबाट क्याम्पसले प्रगति गर्न नसक्ने पूर्वसञ्चालक समितिका पदाधिकारीले बताउने गरेका छन् । शिक्षा आर्जन गर्ने स्थानमा भएका यस्ता केही घटनाको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अख्तियारले अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको एक पूर्वक्याम्पस प्रमुखले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् । जिल्लाको गौरवको रूपमा रहेको यो क्याम्पसलाई भ्रष्टाचार र अनियमितताको दलदलबाट बचाउन संस्थापक क्याम्पस प्रमुख वसन्तलाल श्रेष्ठ अदालतसम्म पुगेका छन् । स्थानीय जनप्रतिनिधि र अख्तियारको समेत जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मौन बस्नुले क्याम्पसमा आर्थिक अनियमितताको जालो थप कसिलो बन्दै गएको छ ।