विदुर नपाले बाह्रै पालिकाको राहदानी र राष्ट्रिय परिचयपत्रको निःशुल्क आवेदन भर्दै

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १२:३१

विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउनुपर्ने राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम जेठ १ गतेदेखि विदुर नगरपालिकाले निःशुल्क भरिदिन थालेको छ । विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहमति लिएर राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम भर्ने निःशुल्क सेवा दिन थालेको हो । नगरपालिकाले विदुरसहित जिल्लाको १२ वटै पालिकाका सेवाग्राहीको राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम निःशुल्क भरिरहेको छ ।

नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको उपस्थितिमा निःशुल्क सेवा जेठ १ गते सोमबारदेखि शुभारम्भ भएको हो । नगरपालिकाले निःशुल्क सेवा दिन थालेसँगै सेवाग्राहीलाई राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम भर्न सहज भएको छ । यसअघि राहदानी फाराम भर्न तीन सय रुपैयाँ र राष्ट्रिय परिचयपत्र अनलाइन आवेदन भर्न सय रुपैयाँ शुल्क सेवाग्राहीले तिर्ने गरेका थिए । बाहिर तिर्नुपर्ने शुल्क नगरपालिकाले निःशुल्क गरिदिएपछि सेवाग्राहीले बिनाझन्झट सहज रूपमा सेवा लिइरहेका छन् । नगरपालिकाले जिल्लाकै १२ वटा पालिकाबाट प्रशासनमा सेवा लिन आउने सबैलाई निःशुल्क सेवा दिन कर्मचारी नै खटाएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटपरिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी) को सहायता कक्षबाट दुईजना कर्मचारीले निःशुल्क सेवा दिइरहेका छन् ।

गत वैशाख २५ गते विदुर नगरपालिकाको तर्फबाट प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापालगायत सरोकारवालाबीच सहमति भएअनुुसार सेवा सञ्चालनमा ल्याइएको हो । प्रशासन कार्यालय नुवाकोटबाट आवेदन दिन चाहेका सेवाग्राहीलाई विदुर नगरपालिकामार्फत खटाइएको जनशक्तिले निःशुल्क रूपमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम भरिदिने गरेका छन् । त्यसका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्था नगरपालिकाले मिलाएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । निःशुल्क सेवा प्रवाहसहित राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सरल र सहज तथा त्रुटिरहितसमेत बनाउने लक्ष्य भएकाले सोहीअनुसार सेवा दिन लागिएको उनले बताए ।