नुवाकोटमा जनसङ्ख्या र घरधुरी सङ्ख्या घट्यो

  • त्रिशूली प्रवाह
  • १८ जेष्ठ २०८०, बिहीबार १२:४०

विदुर, नुवाकोटको जनसङ्ख्या दश वर्षअघिको भन्दा घटेको छ । राष्ट्रिय जनगणना ०७८ को आइतबार जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रमको क्रममा तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको तथ्याङ्क विवरणअनुसार नुवाकोटमा १४ हजार २६ जनसङ्ख्या घटेको हो ।

तथ्याङ्क कार्यालय नुवाकोटले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ६३ हजार तीन सय ९१ रहेको छ । जसमा एक लाख २८ हजार नौ सय ९८ जना पुरुष र एक लाख ३४ हजार तीन सय ९३ जना महिला रहेका छन् । कार्यालयका तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह थामीले बताएअनुसार अहिलेको जनसङ्ख्या दश वर्षअघिको जनगणना ०६८ अनुसार १४ हजार २६ घटेको छ । ०६८ को जनगणनाअनुसार नुवाकोटको जनसङ्ख्या दुई लाख ७७ हजार चार सय ७१ रहेको थियो । दश वर्षको अवधिमा नुवाकोटको जनसङ्ख्या घटेर दुई लाख ६३ हजार तीन सय ९१ हुन आएको छ । दश वर्षको अवधिमा नुवाकोटमा घरधुरी सङ्ख्या नौ हजार चार सय ६४ घटेको छ भने जनसङ्ख्या १४ हजार २६ जना घटेको तथ्याङ्क कार्यालय नुवाकोटको तथ्याङ्क अधिकृत थामीले जानकारी दिएका हुन् । घरजग्गामा महिलाको स्वामित्वलाई हेर्दा नुवाकोटमा घर मात्रै आफ्नो नाममा भएका महिला आठ सय ८२ जना, जग्गा मात्र आफ्नो नाममा भएका महिला चार हजार नौ सय ८४ जना, घरजग्गा नै आफ्नो नाममा भएका महिला ६ हजार तीन सय ६९ रहेको तथ्याङ्क कार्यालय नुवाकोटका प्रमुख थामीले जानकारी दिए ।