शनिबार प्रधानमन्त्री प्रचण्ड पञ्चकन्यामा

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:२७

विदुर, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जेठ २७ गते शनिबार नुवाकोटको पञ्चकन्या गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटनका लागि आउने भएका छन् ।

गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेको सङ्घीय सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले जानकारी दिए । प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा पहिलोचोटि पञ्चकन्याको भूमि टेक्न लागेका हुन् । उनी यसअघि पनि ०७६ माघ २५ गते शनिबार पञ्चकन्या गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिता उद्घाटनका लागि आएको उपप्रमुख विमला केसीले बताए । सो समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्री तथा सङ्घीय सांसद हितबहादुर तामाङ, सङ्घीय सांसद विमला सुवेदीलगायत जिल्लाका जनप्रतिनिधि, विभिन्न दलका नेता र स्थानीयको सहभागिता रहने पालिकाका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए । उनका अनुसार उक्त प्रशासकीय भवन ०७७ पुस २० गत ब्राह्मण पुरोहित र लामागुरुबाट संयुक्त रूपमा पूजापाठ गरी शिलान्यास गरिएको थियो । शनिबार बिहान ११ बजे उद्घाटन कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जानकारी दिए । नवनिर्मित भवनमा बैठक कक्षासहित २७ वटा कोठा रहेकोसमेत उनले बताए ।