बेलकोट, मानव अधिकारका लागि महिला एकल महिला संस्था नुवाकोटको आयोजनामा बेलकोटगढी नगरपालिकाको सहयोगमा द्वन्द्वपीडितको लागि आयमूलक तीनदिने कुखुरापालन मंगलबार सम्पन्न भएको छ ।
जेठ २१ देखि २३ गतेसम्म सञ्चालन भएको तालिममा ३१ जना द्वन्द्वपीडित परिवार सहभागी भएका थिए । मानव अधिकारका लागि महिला एकल महिला संस्था बागमती प्रदेश अध्यक्ष देवकी पौडेलले संयोजन गरेको तालिमको समापन बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुरुङले द्वन्द्वपीडितका लागि पालिकाले यो पहिलो कार्य गरेको बताए । अझै बाँकी चार वर्ष द्वन्द्वपीडितका लागि क्षमता विकास, जीवनोपयोगी सीप, आय-आर्जनमूलक काम गर्नेे प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् । आय-आर्जनमा सघाउ पु¥याउने उद्देश्यका साथ सञ्चालन गरिएको तीनदिने आवासीय तालिमपश्चात् प्रमाणपत्र, बिउपुँजीका साथ कुखुराको चल्ला र दाना वितरण गरिएको थियो । १० वर्षे जनयुद्ध र जनआन्दोलनले मुलुकमा धेरै परिवर्तन भए पनि कार्यान्वयनमा कमी भएको अवस्थामा बेलकोटगढी नगरपालिकाका द्वन्द्वपीडित परिवारको उत्थानका लागि गरेको तालिमको प्रशिक्षक पशु प्राविधिक नवीन पुडासैनी, नगरपालिकाको शाखा प्रमुख जानकी मिश्र, कृषि शाखा/आर्थिक विकास शाखाका दिनेश जम्कट्टेललगायतले व्यवसायी बन्न तालिम उपयोग हुने बताएका थिए ।