बीस युवालाई बाँसुरी तालिम

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:४९

त्रिशूलीबजार, विदुर नगरपालिका-१, त्रिशूलीबजारमा त्रिशूली-काठमाडौं समाजको आयोजनामा आइतबारदेखि एकमहिने बाँसुरी प्रशिक्षण सुरु भइरहेको छ ।

त्रिशूलीको सुगतपुर विहारमा सुरु भइरहेको बाँसुरी प्रशिक्षणमा १६ पुरुष र चार महिला सहभागी रहेको समाजका अध्यक्ष देशभक्त प्रधानले जानकारी दिए । सरोज महर्जन र सुरेश श्रेष्ठ प्रशिक्षक रहेको बाँसुरी प्रशिक्षण कार्यक्रमको व्यवस्थापन गर्न समाजले पूर्वअध्यक्ष राजेन्द्रभक्त अमात्यको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिको सदस्यमा नाथलाल डङ्गोल, कुमारमान मलेकु, सुनील बज्राचार्य सदस्य रहेका छन् । समाजले स्थापनादेखि नै त्रिशूलीमा निःशुल्क दन्त शिविर, स्वास्थ्य शिविर, धिमे बाजा बजाउने तालिम, उद्घोषण कलाको प्रशिक्षण र स्थानीय पर्व जात्रा सञ्चालनमा सहयोग र समन्वय गर्दै आएको छ । विदुर नगरपालिका-१ मा जन्मेका काठमाडौंलगायत अन्य स्थानमा बसोवास गर्नेको संस्था त्रिशूली-काठमाडौं समाजले दिदीबहिनी पुनर्मिलन कार्यक्रमसमेत विगतमा सम्पन्न गरेको थियो । त्रिशूलीको ऐतिहासिक, धार्मिकस्थलको पहिचान, प्रचार-प्रसार र धर्म, संस्कृतिको रक्षा र संवद्र्धनमा समाज सक्रिय रहेको विदुर नगरपालिका-१ का अध्यक्ष लेनिन रञ्जितले बताए ।