उत्तरगया र कालिकामा धूम्रपानविरुद्ध सन्देशमूलक कार्यक्रम

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार ११:५७

बेत्रावती, रसुवामा सामाजिक क्षेत्रमा सक्रिय संस्था लालीगुराँस सामुदायिक विकास केन्द्रले उत्तरगया र कालिका गाउँपालिकासँग समन्वय गरेर धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट हुने रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी सन्देशमूलक कार्यक्रम चालू आवमा सम्पन्न गरेको छ ।

केन्द्रले नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य करकोष काठमाडौंको सहयोगमा रसुवाको उत्तरगया र कालिका गाउँपालिकामा गत महिनामा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने असर र रोगसम्बन्धी जानकारीमूलक विविध कार्यक्रम सञ्चालन गरेको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले केन्द्रले सन्देशमूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ । उत्तरगया गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रवीन्द्र ठकुरी र कालिका गाउँपालिकाका स्वास्थ्य प्रमुख नवराज न्यौपानेले केन्द्रले धूम्रपानविरुद्ध जनचेतनामूलक कार्यक्रम पालिकासँग समन्वय गरेर सञ्चालन गरेको जानकारी दिएका छन् । दुई पालिकामा केन्द्रले धूम्रपान तथा सुर्तीजन्य पदार्थको उपभोगबाट हुने क्षतिबारे केन्द्रले पम्प्लेट तथा स्टिकर छपाइ गरेर वितरण गरेको, सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राखेको, स्थानीय/रेडियोबाट सन्देशमूलक कार्यक्रम प्रसारण गरेको, जनचेतनामूलक लोकदोहोरी कार्यक्रम गरेको थियो । केन्द्रले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनबाट हुने क्षति लेखिएको टी-सर्ट वितरण, विद्यालयस्तरीय वक्तृत्वकला कार्यक्रम, समुदायस्तरीय चेतनामूलक वृत्तचित्र प्रसारण, फ्लेक्स प्रिन्ट निर्माण र वितरण गरेको थियो । जिल्लाको उत्कृष्ट गैरसरकारी संस्था लालीगुराँस विकास केन्द्र विगत १० वर्षदेखि जिल्लामा आर्थिक, सामाजिक उत्थान र परिवर्तनमा सक्रिय रहेको छ ।