तारकेश्वरमा थप स्थानीय पाठ्यक्रममा अध्यापन सुरु

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १२:२८

दाङसिंह, नुवाकोटको तारकेश्वर गाउँपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले तयार गरेको कक्षा एकदेखि आठसम्मको स्थानीय पाठ्यक्रमसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर अध्यक्ष शिव अधिकारीले विमोचन गरेका छन् ।

स्थानीय पाठ्यक्रम विमोचनपछि गाउँपालिकाभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । सङ्घीयता कार्यान्वयनको सातौँ वर्षमा गाउँपालिकाले पहिलोपटक स्थानीय पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाभरका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकको उपस्थितिमा स्थानीय पाठ्यक्रम विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताए । उनले शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रम निरन्तर र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । अध्यक्ष अधिकारीले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अङ्ग्रेजी माध्यममा पठन-पाठन सुरु गर्ने तयारी रहेकोसमेत खुलासा गरेका छन् । उनले पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिँदै पाठ्यक्रमलाई परिष्कृत गर्दै लैजाने उल्लेख गरेका छन् । यस्तै, कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अधिकारीले शिक्षकको तलब कुनै हालतमा रोकिन नहुने भन्दै समयमै तलब भुक्तानी गर्न शिक्षा शाखालाई निर्देशनसमेत दिएका छन् ।