सेनाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले सेवा लिए

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १२:४२

धुन्चे, रसुवाको उत्तरगया गाउँपालिकाको कार्यालय खाल्टेमा नेपाली सेना विष्णु दल गणले गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ६० जनाले सेवा लिएका छन् ।

नेपाली सेना विष्णु दल गण, जनस्वास्थ्य कार्यालय र रसुवा अस्पतालको संयुक्त आयोजनामा शुक्रबार सम्पन्न निःशुल्क शिविरबाट एक सय ६० जनाले सेवा लिएको पालिकाले जानकारी दिएको छ । उक्त शिविरमा प्रेसरको समस्या ११ जना, हाडजोर्नी तथा नसाको समस्या २० जना, छातीरोग सातजना, छाला रोगसम्बन्धी १५ जना, नाक, छाती आठजना, आँखा ३६ जना, पेटसम्बन्धी २३ जना र पाठेघर ४० जना रहेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमित शाहले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । बालबालिका, महिला वयस्कदेखि वृद्धवृद्धाको उल्लेखनीय सहभागिता रहेको शिविरबाट सबैले भरपूर सेवा लिन सकून् भन्ने उद्देश्यले गरिएको शिविरको व्यवस्थापन उत्तरगया गाउँपालिकाले गरेको थियो । गाउँपालिकाको व्यवस्थापनमा नेपाली सेनाले २४ गते डाँडागाउँमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।