९८ जनाको सदस्यता खारेज

  • त्रिशूली प्रवाह
  • २५ जेष्ठ २०८०, बिहीबार १३:०४

विदुर, नेपाल पत्रकार महासंघ केन्द्रको निर्देशनअनुसार नुवाकोटका ९८ जना पत्रकारको सदस्यता खारेजीमा परेको छ । महासंघले सदस्यता सुदृढीकरणलाई कडाईका साथ लागू गर्न सदस्यता सुदृढीकरण मापदण्ड २०७९ सार्वजनिक गरेको छ । गत महिना नवलपरासीमा सम्पन्न केन्द्रिय समितिको बैठकको निर्णयानुसार सदस्यता सुदृढीकरण मापदण्ड २०७९ कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त मापदण्डअनुसार महासंघले हाल कायम रहेको सदस्यको नविकरण तथा नयाँ सदस्य प्रदानको मापदण्ड तोकेको छ । केन्द्रको निर्देशनअनुसार पत्रकार महासंघ नुवाकोटको हालै सम्पन्न बैठकले पत्रकारितामा क्रियाशिल नभएका ९८ जना सदस्यको सदस्यता खारेज गरेको छ । नुवाकोटमा १ सय ७४ सदस्य रहेकोमा अब ७६ जनाको मात्र नविकरण हुने भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सम्पन्न बैठकको निर्णयानुसार जेठ २७ गतेसम्ममा आवश्यक कागजात र शुल्कसहित सदस्यता नविकरण आवेदन फारम बुझाउनुपर्नेछ ।
सदस्यता नविकरण सम्बन्धमा शुद्धिकरण मापदण्डमा उल्लेख भएअनुसार ९८ जना सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय बैठकले गरेको सचिव जगदीश खनालले बताउनु भयो । संघमा आबद्ध ७६ जना सदस्यले नविकरणका लागि आवश्यक कागजात आवेदन फारम, आबद्ध सञ्चार सञ्चारको परिचयपत्र, हालसालै खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति, समाचार प्रकाशन तथा प्रशारण भएका प्रमाण, शुल्क ३ हजार रूपैयाँ (२०७८ देखि २०८० सम्म वार्षिक १ हजार रुपैयाँका दरले) बुझाउन पर्नेछ ।