+
Search

ताजा अपडेट +

पपुलर +

निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय लाभान्वित
त्रिशूली प्रवाह
२ साल अगाडी

बेलकोटगढी, ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि., गरिमा विकास बैंक र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा बेलकोटगढी नगरपालिका-२ फाँटीपौवाको जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सम्पन्न शिविरमा बेलकोटगढी नगरपालिकाले समेत सहकार्य गरेको थियो । उक्त शिविरमा आठ सयभन्दा बढीले विभिन्न रोगको परामर्श, परीक्षण तथा उपचार गराएका थिए ।

ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा स्वास्थ्य परीक्षण गर्न आउने सम्पूर्ण सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण, उपचार तथा निःशुल्क औषधि उपलब्ध गराइएको थियो । शिविरको उद्घाटन प्रतिनिधिसभाका सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंङ केसीले गरेका थिए । शिविरमा अस्पतालले रेडियोलोजी, सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, छाती तथा श्वास–प्रश्वास रोग, दन्तरोग, हाडजोर्नी, चर्म तथा यौनरोग, स्त्री क्यान्सर परीक्षण तथा फार्मेसी सेवालगायतका विषयमा २५ जनाभन्दा बढी विशेषज्ञ चिकित्सकबाट सेवा दिएको थियो । अस्पतालका अध्यक्षसमेत रहेका सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिस्ट डा. आनन्दप्रसाद श्रेष्ठले शिविरमा वरिष्ठ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य अत्यावश्यकीय परीक्षण र परामर्श गर्न सकिने व्यवस्था मिलाइएको र थप उपचारका लागि काठमाडौंस्थित ॐ हस्पिटलमा विशेष छुटसमेत प्रदान गरिने बताए ।
एक दिवसीय शिविरमा चर्म तथा यौनरोग, हाडजोर्नी, दन्त चिकित्सा सेवा, सामान्य चिकित्सा, छाती तथा फोक्सो, मुटुरोग, स्त्री तथा प्रसूति, महिलासम्बन्धी क्यान्सर परीक्षणलगायतका विधामा आठ सयभन्दा बढी बिरामीले विशेषज्ञसँग परामर्श तथा उपचार सेवा प्राप्त गरेको यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह