+
Search

ताजा अपडेट +

पपुलर +

पञ्चकन्याको प्रशासकीय भवन उद्घाटन नयाँ भवनबाट सेवा सञ्चालन

पञ्चकन्याको प्रशासकीय भवन उद्घाटन नयाँ भवनबाट सेवा सञ्चालन
त्रिशूली प्रवाह
३ साल अगाडी

कविलास, प्रधानमन्त्री पुष्पकमल दाहालले पञ्चकन्या गाउँपालिका-३ लाँकुरीभञ्ज्याङमा नवनिर्मित गाउँपालिकाको प्रशासकीय भवन शनिबार उद्घाटन गरेका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

भवनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नयाँ प्रशासकीय भवनले भन्दा पनि नागरिकलाई प्रदान गरिने सेवा प्रवाह एकद्वार प्रणालीबाट गरिनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको उपलब्धिलाई स्वीकार गर्न नसकेकाले जनतामा भ्रम छर्ने काम गरिरहेको आरोप सो कार्यक्रममा लगाए । उद्घाटन समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेशका सांसद एवम् नेपाली काङ्ग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेश सभाका पूर्वसांसद एवम् नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, बागमती प्रदेश सभाका सदस्य एवम् पूर्वउपसभामुख राधिका तामाङलगायतले पालिकाले दिने सेवा गुणस्तरीय र विश्वसनीय हुनुपर्ने बताएका थिए । सो कार्यक्रममा भवन निर्माण गर्ने सूर्यचन्द्र कन्स्ट्रक्सनका जनार्दन ढकाल, भवन डिजाइन गर्ने लियोनार्दी इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज तामाङलाई सम्मान गरिएको थियो ।

Suzuki New Bike & Scooter

२७ कोठे आधुनिक पक्की भवनमा बृहत् सभाहलसहितको तीनतले भवनबाट सेवाग्राहीमा सेवा प्रवाह गर्नका लागि सुविधा भएको गाउँपालिका अध्यक्ष तेजबहादुर (रमेश) तामाङले बताए । प्रशासनिक भवनको भुइँ तलामा नौवटा कोठा रहेका छन् । पहिलो तलामा प्रमुख प्रशासकीय अधिकृत कक्ष, लेखा, प्राविधिक शाखासहित अन्य शाखा रहेका छन् भने दोस्रो तलामा अध्यक्ष, उपाध्यक्षको कार्यकक्षसहित मिटिङ हल, कम्प्युटर अप्रेटर कक्ष रहेको छ । अध्यक्षको कोठामा अटोमेटिक रिमोटबाट चल्ने स्वचालित ढोका रहेको छ । भवनको पिल्लरमा नेपालीपन झल्किने विभिन्न बुट्टा कुँदिएका छन् भने भवनबाहिर अपाङ्गमैत्री आधुनिक महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, चारवटा साना–ठूला गाडीसहित ४० वटा मोटरसाइकल अट्ने पार्किङ क्षेत्र रहेको छ । भवनमा ५० जनाभन्दा बढीलाई खाना, खाजा खुवाउन सक्ने क्षमताको क्यान्टिन र मिटिङहल, स्टेजसहितको सान्डसिस्टम जडान गरिएको छ भने छतमा एक किचन र बेडरुम रहेको छ । भवनमा आवश्यक फर्निचर राखिएको र पालिकाको सेवा आइतबारदेखि नयाँ भवनबाट सुरु भएको छ । २० रोपनी जग्गामा निर्मित उक्त भवनको लागत नौ करोड सात लाख ६९ हजार चार सय ८२ रुपैयाँ स्टमेट रकम भए पनि ६ करोड दुई लाख आठ हजार सात सय ९० मा सूर्यचन्द्र कन्स्ट्रक्सनले टेन्डर पारेको थियो । यसअघि गाउँपालिकाले घलेभञ्ज्याङबाट सेवा प्रवाह गर्दै आइरहेको थियो । गाउँपालिकाले दुई एम्बुलेन्सबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रधानमन्त्री दाहालले शनिबारै पालिकाको वडा नम्बर ३ लाँकुरीभञ्ज्याङ भूमिगत बृहत् खानेपानी आयोजनाको उद्घाटनसमेत गरेका थिए । उक्त खानेपानी योजनाको लागत एक करोड ५० लाख रुपैयाँ लगानीमा निर्माण भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्लेले जानकारी दिए । त्यसैगरी एक करोड ५० लाख रुपैयाँको लागतमा निर्मित लिफ्ट सिँचाइको पनि शनिबार प्रधानमन्त्रीले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह