पाँच वर्षमा राहदानी बनाउनेको सङ्ख्या दोब्बर

  • त्रिशूली प्रवाह
  • १ असार २०८०, शुक्रबार १५:२४

विदुर, मुलुकमा जारी रहेको राजनीतिक अस्थिरता तथा सुनिश्चित भविष्यको अन्योल भएसँगै नुवाकोटबाट विदेश जान चाहनेको सङ्ख्या पाँच वर्षमा दोब्बर भएको छ । विदेश जानका लागि नुवाकोट जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या आ.व. ०७५÷७६ मा पाँच हजार तीन सय दुईजना रहेकामा आ.व. ०७९/८० को वैशाखसम्ममा १० हजार आठ सय १८ जना रहेको छ । यो सङ्ख्या पाँच वर्षभन्दा अगाडिको भन्दा दोब्बर बढी हो ।

पछिल्लो पाँच वर्षको जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट राहदानी वितरण गरेको तथ्याङ्कको आधारमा चालू आर्थिक वर्षमा विदेश जाने चाहना राखेर राहदानी बनाउनेको सङ्ख्या दोब्बरभन्दा बढी रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा नुवाकोट प्रशासनमार्फत राहदानी बनाउनेको सङ्ख्या १० हजार आठ सय १८ जना रहेको छ । यो अवधिमा राहदानी आवेदन फाराम सङ्कलन ११ हजार आठ सयजनाको गरिएकोसमेत उनले जानकारी दिए । वैशाखसम्म राहदानी आवेदन फाराम सङ्कलन ११ हजार आठ सयजनाको गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अघिल्ला वर्षमा पाँच हजारको हाराहारी हुने गरेकोमा राहदानी बनाउनेको सङ्ख्या यो वर्ष त्योभन्दा दोब्बर बढी सङ्ख्या चालू आर्थिक वर्षको १० महिनामा नै पुगेको छ । आर्थिक वर्ष ०७५/७६ मा विदेश जानका लागि भनेर राहदानी बनाउनको सङ्ख्या पाँच हजार तीन सय दुईजना भएसँगै त्यस अवधिसम्मको सबैभन्दा बढी तथ्याङ्क कायम भएको थियो ।

त्यसपश्चात् आर्थिक वर्ष ०७६/७७ मा चार हजार पाँच सय ५४ जना, आर्थिक वर्ष ०७७/७८ मा तीन हजार नौ सय ९३ जना र आर्थिक वर्ष ०७८÷७९ मा चार हजार सात सय ४८ जनाले राहदानी बनाएको प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ । विदेश जाने चाहना राखेर राहदानी बनाउनेको सङ्ख्या एक वर्षमा पाँच हजार नाघेको ०७५÷७६ मा सबैभन्दा धेरै मापन भएकोमा यो चालू आर्थिक वर्षमा त्योभन्दा दोब्बर बढी १० महिनामा नै पुगिसकेको छ । राहदानी बनाएर विदेश जान चाहने अधिकांश रोजगारका लागि जाने गरेको विदुर नगरपालिकामार्फत सञ्चालित सुरक्षित आप्रवासन स्रोत केन्द्र (सामी)की कार्यक्रम संयोजक निरू चित्रकारले जानकारी दिएकी छिन् । प्रशासन कार्यालय परिसरमा स्थापना भएको सहायता कक्षले राहदानी बनाउनेलाई गर्दै आएको सहजीकरणको समयमा लिएको तथ्याङ्कले सबैभन्दा बढी रोजगारका लागि विदेश जान चाहने युवा देखिएको उनले बताइन् । त्यसपश्चात् अध्ययनका लागि रहेको पाइएको छ भने भ्रमण तथा व्यापार-व्यवसायका लागि जान चाहेको सङ्ख्या न्यून रहेकोसमेत उनले बताइन् । विदेश जाने चाहना राखेर राहदानी बनाउनहरू मुलुकमा देखिएको राजनीतिक अस्थिरतासँगै रोजगारको सम्भावना नभएकाले रहर नभई बाध्यताले देश छाडेर जानुपरेको बताउँछन् ।

नुवाकोटबाट राहदानी लिनेको सङ्ख्या र प्रतिलिपि नागरिकता बनाउनेको सङ्ख्या पनि बढोत्तरी भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले दिएको आ.व. ०७८/७९ को तथ्याङ्कमा आठ हजार दुई सय ३२ जनाले प्रतिलिपि नागरिकता लिएकामा चालू आ.व. ०७९/८० को वैशाखसम्म आठ हजार आठ सय ३७ जनाले प्रतिलिपि नागरिकता लिएका छन् । राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन पनि नुवाकोटमा आ.व. ०७८/७९ मा १३ हजार नौ सय ७४ रहेकामा चालू आ.व. ०७९/८० को १० महिनाको वैशाखसम्म २० हजार ६ सय ७६ जनाको गरिसकेको कार्यालयले जानकारी दिएको छ । कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा जनशक्तिको अभाव रहेको छ । जनशक्ति अभावका बाबजुद पनि कार्यालयले नागरिकता, राहदानी वितरण र राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सङ्कलन कार्य कार्यालय समयभन्दा पछिसम्म पनि गर्ने गरेको छ । यसै आ.व.को जेठदेखि राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सङ्कलन कार्य ८८ वटै वडामा सुरु गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको व्यक्तिगत विवरण सङ्कलन कार्य दुप्चेश्वर र म्यागङ गाउँपालिकामा जेठको पहिलो साताबाट सुरु भइरहेको छ ।