पिपलटार, नुवाकोटको विदुर नगरपालिका-५ ले आगामी वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिए पाँच हजार रुपैयाँ दिने भएको छ ।
वडाध्यक्ष लीलानाथ न्यौपानेका अनुसार आगामी आर्थिक वर्ष ०८०/८१ देखि वडाभित्र बच्चा जन्मिए वडाले पाँच हजार रुपैयाँ दिनेछ । वडाले बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्ने बालबालिकालाई पाँच हजार रुपैयाँ दिने र बच्चाका सम्बन्धित अभिभावकले पाँच हजार रुपैयाँ थप गरेर १० हजार रुपैयाँ बैंकमा खाता खोली राखिने वडाध्यक्ष न्यौपानेले जानकारी दिए । जम्मा भएको रकम १५ वर्ष झिक्न नपाउने गरी बालबालिका कोष स्थापना गरिने वडाध्यक्ष न्यौपानेले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । उनले वडाले जम्मा गरेको रकममा पाँच हजार रुपैयाँ थप गर्न नसक्ने अति सीमान्तकृत वर्गका अभिभावकले वडा कार्यालयमा सम्पर्क राखेमा वडाले सबै रकम जम्मा गरिदिनेसमेत बताए । वडाध्यक्ष न्यौपानेले बालबालिकाको जन्मदर्ता गर्न प्रोत्साहन गर्न र बाबालिकाको समग्र विकासका लागि बालबालिकासँग वडाध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरिने बताए ।
वडा कार्यालयको विविध खर्चबाट खर्च गर्ने गरी आगामी असार १० गते हुने नगर परिषद्बाट पारित भएपछि यो कार्यक्रम लागू हुने वडाध्यक्ष न्यौपानेले बताए । उनले वडामा प्रत्येक वर्ष ८० देखि ९० जना बालबालिका जन्मने गरेको भन्दै यो कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरेको बताए । यो कार्यक्रम सफल भएमा अर्काे आर्थिक वर्ष ०८१/८२ मा मृत्यु भएका परिवारलाई पाँच हजार रुपैयाँ किरिया खर्च दिने योजना वडाध्यक्ष न्यौपानेको छ । उनले वडा कार्यालय बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति निकै संवेदनशील रहेको भन्दै वडाले चिया खाने पैसा कटाएर बालबालिका र ज्येष्ठ नागरिकको हितमा खर्च गर्ने बताए ।






प्रतिक्रिया