सम्यक सम्मानबाट त्रिशूलीका आनन्द शाक्यदम्पती सम्मानित

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १२:२३

काठमाडौं, भगवान् गौतम बुद्धको सम्यक शिक्षालाई स्वतन्त्र ढङ्गले प्रचार-प्रसारमा गर्दै आएका नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबजारका आनन्द शाक्यदम्पतीलाई बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशले गत हप्ता काठमाडौंमा सम्मान गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा भएको सम्यक सम्मान २०८० मा त्रिशूलीबजार नुवाकोटका आनन्द शाक्य र उनकी श्रीमती विना शाक्यसहित बुद्धको सम्यक शिक्षाको प्रचार-प्रसारमा संलग्न १८ जना सम्मानित भएका थिए । गत जेठ ३१ गते बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशको सातौँ वार्षिकोत्सव तथा भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारसमेत दुईजनालाई प्रदान गरिएको थियो । भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कारबाट यस वर्ष वरिष्ठ नियात्रा लेखक घनश्याम राजकर्णिकार र परियक्ति अभियन्ता अमिता धाख्खालाई प्रदान गरिएको थियो । उक्त समारोहमा भिक्षु तपस्साघम्म महास्थवीर, सुनचाँदी व्यवसायी सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्य, समालोचक पूर्णकाजी ताम्राकारलगायतको उपस्थिति रहेको थियो ।