आयुर्वेद सम्बन्धी जानकारीमूलक कार्यक्रम

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १४:३७
  • सरस्वती न्यौपाने

धुन्चे, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेमा रहेको आयुर्वेद स्वास्थ्य केन्द्रले दुईदिने सचेतना कार्यक्रम गरी महिला स्वास्थ्य स्वयम्सेविका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय, नर्सलाई आयुर्वेदसम्बन्धी कार्यक्रम गरी जनचेतना फैलाउने कार्य गरेको छ ।

कार्यक्रम संयोजक वरिष्ठ वैद्य प्रेमशंकर प्रसादका अनुसार असार २ गते गोसाइँकुण्ड गाउँपालिकाभित्रका विद्यालयका प्रधानाध्यापक, शिक्षक, शिक्षिका, विद्यालय नर्सलाई स्वस्थ आहारविहार पवित्र आचार भन्ने नाराका साथ विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमअन्तर्गत एकदिने प्रशिक्षण दिई आयुर्वेदिक पद्धतिलाई पनि आत्मसात् गरून् भन्ने उद्देश्य रहेको बताए । यस्तै असार २ गते महिला स्वास्थ्य स्वयम्सेविकालाई पनि आयुर्वेदिक पद्धतिबाट प्रदान गरिने सेवाबारे जागरुक बनाई मातृ मृत्युदर घटाउन आयुर्वेद चिकित्सा सेवा र जडीबुटीबारे जानकारी दिने, आयुर्वेद संस्थाबाट प्रदान गरिने सेवाबारे जानकारी गराउने उद्देश्यले र ग्रामीण भेगका बासिन्दाले पनि आयुर्वेद सेवाबारे जानकारी लिएर उपचार गर्न आउन् भन्ने सन्देश प्रवाह गर्न सचेतना कार्यक्रम गरिएको डाक्टर चन्द्रबोली शाहले बताए । अझै पनि कतिपय ठाउँमा आयुर्वेदिक उपचार थाहा नभएको र अबका दिनमा आयुर्वेदिक सेवाबारे आमनागरिकले थाहा पाउन जरुरी रहेको छ । आयुर्वेदिक उपचारले तत्कालै रिजल्ट नदेखिने भए तापनि विस्तारै रोग निको हुने, स्वास्थ्यलाई पनि लाभ हुने भएकाले सबैले यसतर्फ आकर्षण हुन जरुरी रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।