प्रेम एमालेको केन्द्रीय सदस्य

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १४:४८

धुन्चे, गत वैशाखमा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका रसुवाका प्रेम तामाङ गत हप्ता केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

एमाले मुख्यालय ललितपुरको च्यासलमा गत हप्ता भएको केन्द्रीय सचिवालय बैठकले नेकपा एकीकृत समाजवादी परित्याग गरी आएका मुकुन्द न्यौपाने र तामाङसहित १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको हो । तामाङ एमाले रसुवाका सचिव जनार्दन ढकालको मध्यस्थतामा गत वैशाख ९ गते तामझामसहित एमालेमा प्रवेश गरेका थिए । तामाङ संविधानसभा सदस्य एवम् बागमती प्रदेशका निवर्तमान सदस्य हुन् । रसुवाबाट एमालेको केन्द्रीय सदस्यमा माधव अर्यालसहित दुईजना रहेका छन् । तामाङ ०६४ चैत २८ गते भएको पहिलो संविधानसभा निर्वाचनमा रसुवाबाट नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका थिए । ०७४ को पहिलो प्रदेश सभा निर्वाचनमा रसुवाको क्षेत्र नम्बर २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।