विदुर, नुवाकोट र रसुवा जिल्लामा सञ्चालन भइरहेको टिमुरे बस तथा मिनीबस यातायात प्रा.लि.ले दुर्घटना न्यूनीकरण गर्न विदुरमा ट्राफिक चेतना कार्यक्रम गत शुक्रबार सम्पन्न गरेको छ । बढ्दो दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका सवारीचालक, सवारीधनी र सर्वसाधारणलाई सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रममा चिसो दहीसमेत वितरण गरिएको थियो ।
जिल्ला ट्राफिक कार्यालयको समन्वयमा सडक सुरक्षा, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा कार्यक्रम आयोजना गरिएको टिमुरे बस तथा मिनीबस यातायात प्रा.लि.का अध्यक्ष प्रकाश जोशीले बताए । सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक सचेतनासहित बढ्दो गर्मीमा शीतलता प्रदान गर्न यात्रु, चालक, सहचालकलगायतलाई निःशुल्क दही वितरण गरिएको उनले बताए । विदुर नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा दुर्घटना न्यूनीकरणका लागि चालक, स्थानीय, अभिभावक, युवा सबै एकजुट भएर लाग्नुपर्नेमा उनहरूले जोड दिए । यस्ता कार्यक्रमले जिल्लामा दुर्घटना न्यूनीकरण गर्न मद्धत पुग्ने जिल्ला ट्राफिक कार्यालयले अपेक्षा गरेको छ ।






प्रतिक्रिया