धुन्चे, सरकारले महिलाको नाममा जग्गा पास राजस्वमा ५० प्रतिशत छुट दिने प्रावधान ल्याएपश्चात् देशभरि नै महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढिरहेको छ । महिलाको नाममा छुटको प्रभाव रसुवा जिल्लामा पनि परेको मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठले बताए । पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढोत्तरी भइरहेको छ ।
मालपोत कार्यालयबाट समेत रजिस्ट्रेसनमा राजस्व छुट पाएसँगै महिलाको नाममा जग्गा पास गर्ने कार्य बढ्न थालेको हो । हालसालै सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्याङ्कअनुसार रसुवा जिल्लामा २२ हजार ६ सय ५४ महिलाको जनसङ्ख्या रहेको र महिलाको नाममा उल्लेखनीय रूपमा जग्गा पासको सङ्ख्या रहेको छ । २५ प्रतिशत सदरमुकाम आसपासका र अन्य क्षेत्रमा ५० प्रतिशत राजस्व छुट हुने भएपछि जग्गा पास गर्नेको सङ्ख्या धेरै भएको मालपोत अधिकृत श्रेष्ठ बताउँछन् । आठ सय २६ रसुवावासी महिलाले एकल रूपमा भूस्वामित्व कायम रहेको र तीमध्ये एक सय ८८ महिलाको घर निर्माण र ६ सय ३८ महिलाको जग्गा मात्रै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नौ सय ५० महिलाको भने श्रीमान्सँग संयुक्त जग्गाधनी प्रमाणपत्र पुर्जा रहेको जनगणनाका तथ्याङ्क अधिकृत दीपेन्द्रसिंह धामीले बताए ।







प्रतिक्रिया