इप्पानको सचिवमा नुवाकोटको खड्का निर्वाचित

  • त्रिशूली प्रवाह
  • ७ असार २०८०, बिहीबार १५:४४

काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २१औँ वार्षिक साधारणसभा तथा अधिवेशन गत बिहीबार सम्पन्न भएको छ । गत जेठ ३२ गते सम्पन्न साधारणसभाबाट नुवाकोटका ऊर्जा उत्पादक भरतकुमार खड्का सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको साधारणसभाबाट इप्पानको २५ सदस्यीय कार्यसमितिको निर्वाचनमा सात कार्यसमिति सदस्यबाहेक सबै निर्विरोध भएका छन् । साधारणसभाले अध्यक्षमा गणेश कार्कीसहित पदाधिकारी र सात सदस्यबाहेक सबै सर्वसम्मत भएको निर्वाचन संयोजक चिरञ्जीवी खतिवडाले जानकारी दिए । इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी, पाँचजना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम ग्लान लामा, रामप्रसाद आचार्य र आनन्द चौधरी निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र पाँचजना सचिवमा नुवाकोटको विदुर नगरपालिका-७ तुप्चे सोलेका निर्माणाधीन मध्यगंगा त्रिशूली जलविद्युत् आयोजनाको नेतृत्व गरिरहेका भरतकुमार खड्का, भरतप्रसाद नेपाल, कविता पोखरेल, विक्रम विष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिको कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्त र तीनजना महिला सदस्यमा इसा श्रेष्ठ, सुशन कर्माचार्य, सुमन जोशी रहेका छन् ।