विदुर, बागमती प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमबाट नुवाकोटमा दुईमहिने ढाका बुनाइ तालिम शनिबार सम्पन्न भएको छ । तालिम ०७९ चैत १५ देखि ०८० जेठ १६ गतेसम्म र वैशाख ३ देखि जेठ २ गतेसम्म दुई समूहमा सञ्चालन भएको थियो । वस्तु विकास कार्यक्रमअन्तर्गत दुईमहिने बेसिक एडभान्स ढाका बुनाइ तालिम सम्पन्न भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय नुवाकोटको संयोजनमा सम्पन्न तालिममा २९ जना महिलाको सहभागिता रहेको थियो । उक्त तालिममा बेसिक कोर्सका लागि मिश्रीमाया कुमाल र एडभान्स कोर्सका लागि ढगराज पराजुली प्रशिक्षक रहेका थिए । सैद्धान्तिक र व्यावहारिक तरिकाले ढाकाका सारी, सल, ब्लाउज र सर्टका कपडा, सल, रूमाल, खादालगायत बुन्न सिकाएको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएको छ । तालिममा तयार भएका कपडा ५० प्रतिशत छुटमा प्रशिक्षार्थीलाई बिक्री गरिएको थियो । तालिम समापन कार्यक्रम कार्यालयका प्रमुख रामप्रसाद भुसालको सभापतित्व र नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष श्रेष्ठले ढाका बुनाइ तालिमका लागि तालिम मात्र नहोस् प्रशिक्षार्थीबाट आगामी दिनमा ढाका बुनाइ उद्योग स्थापना गर्न शुभकामना दिँदै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नुवाकोटमा ढाकाको तालिम बर्सेनि भइरहे पनि ढाका बुनाइसम्बन्धी उद्योग स्थापना हुन हालसम्म सकेको छैन । ढाकाको कपडा व्यावसायिक रूपमा उत्पादन गर्न सके बजारको समस्या नरहेको सो कार्यक्रमका विशेष अतिथि नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाले बताए । नुवाकोटमा ढाका उत्पादनका लागि ०६० देखि तालिम र सहयोग लघु उद्यम विकास कार्यक्रम र घरेलु तथा साना उद्योग विकास समितिले गरे पनि व्यावसायिक आकार ग्रहण गर्न नसकेको पूर्वअध्यक्ष सापकोटाले बताए ।
ढाका बुनाइ तालिमका प्रशिक्षार्थीले तयार गरेको कपडा प्रशिक्षार्थीलाई ५० प्रतिशतमा बिक्री गरी राजस्व दाखिला गरिएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । तालिम प्रमाणपत्र भएका उद्योग दर्ता गरेका प्रशिक्षार्थीलाई प्रविधि हस्तान्तरण गरिनेसमेत उनले जानकारी दिए । तालिम समापन कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट बिनु तामाङ, छेकु तामाङले ढाका बुनाइ तालिम सजिलोसँग सिक्न पाएकाले केही गर्न सकिन्छ कि भन्ने आत्माबल बढेको बताएका थिए । थप प्रविधि र ढाकाको तान उपलब्ध भए व्यवसायी उत्पादन गर्न सकिनेसमेत उनीहरूले सो कार्यक्रममा सबै प्रशिक्षार्थीको तर्फबाट अनुरोध गरेका थिए ।






प्रतिक्रिया