रसुवामा पहिलो शल्यक्रियाबाट बच्चा जन्मियो

  • त्रिशूली प्रवाह
  • १४ असार २०८०, बिहीबार १२:१३

धुन्चे, हिमाली जिल्ला रसुवामा रहेको बागमती प्रदेश सरकारअन्तर्गत सञ्चालनमा रहेको रसुवा जिल्ला अस्पतालको व्यवस्थापकीय कार्यबाट पहिलोपटक गर्भवती महिलाको सफल शल्यक्रियाबाट बच्चा जन्मिएको छ ।

सुत्केरी बेथाले छटपटी भएकी, तर सहज रूपले सुत्केरी हुन नसक्ने अवस्थामा पुगेकी उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ टेचाङ्तेकी एक महिलाबाट रसुवा जिल्ला अस्पताल असार ११ गते साँझ शल्यक्रियाबाट सकुशल बच्चा निकाल्न सफल भएको छ । रसुवा जिल्लाको इतिहासमा शल्यक्रियाबाट बच्चा निकाल्न रसुवा अस्पताल सफल भएको छ । सुत्केरीको नाम भने अस्पतालले गोप्य राखेको छ । शल्यक्रियाका लागि रसुवा जिल्ला अस्पतालको व्यवस्थापकीय कार्यमा निक साइमन्स इन्स्टिच्युट संस्थाले दक्ष चिकित्सकसहित केही महत्वपूर्ण उपकरणसमेतको सहयोग दिएको छ । दाता एवम् जिल्ला अस्पतालको अथक प्रयासबाट शल्यक्रियामार्फत बच्चा पैदा गराउन पहिलोपटक सफल भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अमितकुमार शाहले बताए । डा. शाहले गरेको योगदान र मिहिनेतबाटै रसुवा अस्पतालले मुहार फेर्न सफल भई युवा डाक्टरले नयाँ इतिहास कोर्न सफल भएको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए । निक साइमन्सले गरेको सहयोग रसुवावासीका लागि हितकारी भएको र यो सेवाले निरन्तरता पाउनुपर्नेसमेत उनले बताए ।

दक्ष चिकित्सकको साथै दुईजना स्टाफ नर्स, एक ल्याब टेक्निसियन एवम् एकजना रेडियोग्राफरसमेत उपलब्ध गराई उक्त संस्थाले सहयोग गरिरहेको छ । १५ शय्या क्षमताको रसुवा जिल्ला अस्पतालमा निक साइमन्स संस्थाले शल्यक्रियाका लागि नियमित रूपमा एकजना दक्ष चिकित्सक खटाएको छ । शल्यक्रियाविज्ञ चिकित्सक डा. रञ्जितराज पाठकसहितको चिकित्सक समूहले पूर्वतयारीको समयबाहेक ४५ मिनेटको समयावधिमा पेटको बच्चा बाहिर निकाल्न सफल भएको मेडिकल सुपरिटेन्डेन्ट शाहले जानकारी दिए । शल्यक्रियापश्चात् जन्माइएका नवजात शिशुको तौल साढे तीन केजी रहेको र आमा तथा बच्चा दुवैको शारीरिक अवस्था स्वस्थ रहेको अस्पतालले जानकारी दिएको छ । पहिला–पहिला काठमाडौं लान गर्भवती महिलाका लागि प्रमुख जिल्ला अधिकारीको सिफारिसमा सरकारले एयर एम्बुलेन्स (हेलिकोप्टर) उपलब्ध गराए पनि उपचार एवम् शल्यक्रियाको नाममा अस्पतालले धेरै रकम लिने समस्या थियो । अब त्यो समस्या रसुवा अस्पतालले हल गरेपछि एकातर्फ एयर एम्बुलेन्सका लागि खर्च रकमसमेत राज्यको बचेको छ ।