+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट-रसुवाकै लामो मोटरेबल पुल सात वर्षपछि सम्पन्न हुँदै

नुवाकोट-रसुवाकै लामो मोटरेबल पुल सात वर्षपछि सम्पन्न हुँदै
त्रिशूली प्रवाह
२ साल अगाडी

विदुर, वर्षौँदेखि अलपत्र परेको निर्माणाधीन नुवाकोटको बेलकोटगढी नगरपालिका-१२ र विदुर नगरपालिका-२ जोड्ने तादी खोलामा निर्माणाधीन तादी-सिन्दुरे मोटरेबल पुल यस वर्ष सम्पन्न गर्ने गरी धमाधम निर्माणको काम भइरहेको छ । उक्त पुलको विदुरतर्फको भागमा खोलाको बहाव नियन्त्रण गर्न तटबन्द निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

नुवाकोट र रसुवामै मोटरेबल पुल धेरै निर्माण भएर सञ्चालनमा रहेका छन् । दुई जिल्लामा अहिलेसम्म बनेका पुलमध्येकै लामो मोटरेबल पूल यसै आवमा सम्पन्न हुने क्रममा रहेको छ । सात वर्षअघि ठेक्का लागेर निर्माण सुरु भएको नुवाकोट जिल्लाको विदुर नगरपालिका-२ र बेलकोटगढी नगरपालिका– १२ जोड्ने तादी खोलाको पुल यस वर्ष सञ्चालनका लागि नदीमा तटबन्द लगाउने कार्य तीव्रताका साथ भइरहेको छ । ठेक्का लागेर निर्माण सुरु भएपछि खोलाले बाटो परिवर्तन गर्दा निर्माण अन्योल भएको थियो । उक्त पुलको दायाँ-बायाँ, वारि-पारि, तल्लो भाग, माथिल्लो भागमा तटबन्दी निर्माण गरेर खोलाको बहाव नियन्त्रणका लागि थप निर्माणकार्य गर्न ०७७ बाट सुरु भएको थियो । पुलको स्पान थप नगरी सञ्चालन गर्न नसकिने भएपछि पुलको थप प्राविधिक पक्षको अध्ययन भएको थियो । पुल महाशाखा पुल्चोक ललितपुरको विज्ञ टोलीले पुलको प्राविधिक अवस्थाको अध्ययन गरेर दिएको प्रतिवेदनअनुसार पुल सञ्चालनका लागि तटबन्द निर्माण गरेर सडक बनाउने कार्य सुरु भयो । सरकारको कम लागतमा त्यही ठेकेदारबाट खरिद सम्झौताको सर्त पालना गर्दै नदी नियन्त्रण गरेर पुल सञ्चालन गर्ने कार्य अगाडि बढाएको सडक डिभिजन कार्यालयका साइड इन्जिनियर सुमन बस्नेतले जानकारी दिए । शर्मा-वाइबा जेभीले निर्माण गरिरहेको उक्त पुलको लम्बाइ दुई सय ५४ मिटर र ११ मिटर चौडाइ रहेको छ । पुलको दायाँबायाँ तटबन्ध निर्माण अन्तिम चरणमा पुगेकाले अहिले उक्त पुलबाट फाट्टफुट्ट ट्रक, जिप ओहोर-दोहोर गरिरहेका छन् । निर्माण यसै आवभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउन दिनरात नभनी निर्माण व्यवसायीले काम गरिरहेको सडक डिभिजन कार्यालयका प्रमुख अमृतमणि रिमालले बताए । यो पुल निर्माण भएपछि विदुरबाट बेलकोट हुँदै ककनी जान सहज र दूरी छोटो हुनेसमेत उनले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह