धादिङ, अहिले स्थानीय सरकारमा भइरहेको बेथिति र आर्थिक अनियमितताले सङ्घीयता नै धर्मराइरहेको छ । सङ्घीयताको लाभ लिइरहेकाहरूबाटै सङ्घीयतालाई बदनाम गराउन उत्प्रेरित देखिन्छ । स्थानीय तहमा मौलाइरहेको बेथिति र भ्रष्टाचारले सङ्घीयतालाई कुरूप बनाइरहेको चर्चा/परिचर्चा भइरहँदा सङ्घीयताको मर्मविपरीत धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले नगरसभामा भत्ता वितरण गरेको घटना बाहिर आएको छ ।
सङ्घीयताको मर्मविपरीत धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकाले नगरसभा सम्पन्न गराउन गरेको अनियमित क्रियाकलापले बेथिति र विङ्गति झाङ्गिरहेको पुष्टि गर्छ । नगरपालिकाले एक दिनको कार्यक्रम गरी सहभागीलाई दुई दिनको हस्ताक्षर गराई भत्ता खुवाएको छ । नगरपालिकाले गत बिहीबार गरेको नगरसभामा बिहीबार र शुक्रबारको फरक-फरक उपस्थितिमा सहभागीलाई हस्ताक्षर गराएर भत्ता खुवाएको थियो । एक दिन मात्र सञ्चालन भएको नगरसभामा सहभागी दुई सयभन्दा बढीलाई फरक दुई दिनको हस्ताक्षर गराएर भत्ता खुवाएको छ । कार्यक्रम नै नभएको दिनको हस्ताक्षर किन गराइएको भनेर नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीलाई प्रश्न गर्दा यो विषयमा नबोल्ने बताए । नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले नगरसभाको निर्णय-पुस्तिका नगर प्रमुखले प्रमाणित गर्ने भएकाले यो विषयमा प्रतिक्रिया नजनाउने बताए । नगरपालिका महासंघका अध्यक्षसमेत रहेका भीमप्रसाद ढुङ्गानाले नेतृत्व गरेको नीलकण्ठ नगरपालिकामा त यस्तो घटना हुँदा अन्यत्रको के अवस्था होला खोजीनिती गर्न जरुरी देखिन्छ ।
नगरपालिका-२ का वडाध्यक्ष ध्वजबहादुर गुरुङले नगरसभा एकै दिनमा सकेर हरेक वर्ष दुई दिनको उपस्थिति देखाएर भत्ता लिने प्रचलन रहेको बताए । एक दिनमा नगरसभा सकेर दुई दिनको सुविधा लिने गरी निर्णय उठाएको थाहा पाएपछि वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले निर्णय पुस्तिका मगाएर दोस्रो दिनको उपस्थितिमा गरिएको हस्ताक्षर केरेर एक दिनको भत्ता फिर्ता गरेको जानकारी दिए । वडा नम्बर १२ का वडाध्यक्ष धर्मराज भण्डारीले आफू बैठकमा गएका बेला सम्पन्न नगरसभामा फरक-फरक निर्णय पुस्तिकामा हस्ताक्षर गर्न लगाए पनि केमा हस्ताक्षर गरियो भन्ने थाहा नभएको बताए । हरेक बैठकमा पहिले नै उपस्थितिमा हस्ताक्षर गरेर पछि निर्णय लेख्ने गरेकाले नगरसभाको निर्णय पुस्तिकामा नपढी हस्ताक्षर गरेको उनको भनाइ छ । प्रदेश सरकारले तोकेबमोजिम सहभागीलाई प्रतिदिनको करकट्टी गरेर दिनको आठ सय ५० का दरले भत्ता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया