तिरतिरे र देवीघाटको पहिरोले सडक अवरुद्ध

  • त्रिशूली प्रवाह
  • १४ असार २०८०, बिहीबार १२:४२

विदुर, राष्ट्रिय गौरवको योजना अन्तर्गत धादिङ जिल्लाको गल्छीदेखि नुवाकोटको विदुर-ढुङ्गे-बेत्रावती हुँदै रसुवाको मैलुङ-स्याफ्रुबेँसी-रसुवागढीसम्म निर्माणाधीन सडक निर्धारित समयमा सम्पन्न नहुँदा सडक प्रयोगकर्ताले सास्ती व्यहोर्नु परिरहेको छ । यो सडकमार्गको देवीघाटपारिको पहिरो र भैँसेनजिकको तिरतिरे पहिरो नियन्त्रण नहुँदा पानी पर्दा सडक घण्टौँ अवरोध भइरहँदा पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाअन्तर्गत ढुङ्गे-बेत्रावतीखण्डको तिरतिरेभिर क्षेत्रको सडक र देवीघाट पुलसँगैको जिलिङको पहिरो समयमा नियन्त्रण नहुँदा वर्षा हुनासाथ अवरुद्ध हुने गरेको छ । उक्त दुवै क्षेत्रको पहिरो नियन्त्रणका लागि ठेक्का भएर ठेकेदारले काम अगाडि बढाइसकेका छन् । तर, ठेकेदारले ती क्षेत्रको डाँडोको माटो मात्रै खनेर छाडिदिएकाले वर्षा हुनासाथ लेदोसहितको भलपानी दुई-तीन फिटसम्म सडकमा जम्मा हुने गरेको छ । विदुर नगरपालिका-१० को १ नम्बर पुलदेखि भैँसेसम्मको सडकमार्गमा दैनिक सयौँ सवारीसाधान फस्ने गरेका छन् । गत महिना जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी किरण थापाको कार्यकक्षमा गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाको प्रतिनिधि, तिरतिरेभिरको पहिरो र देवीघाटपारिको पहिरो नियन्त्रणका लागि जिम्मेवारी पाएको ठेकेदार कम्पनीका प्रतिनिधि र अन्य सरोकारवालाबीच भएको छलफलमा बर्खाभरि हेभी इक्युपमेन्टसहित प्राविधिक जनशक्ति ठेकेदारले उक्त क्षेत्रमा व्यवस्था गर्ने सहमति भएको थियो । उक्त सहमति भएको महिना दिन बितिसक्दा पनि दुवै क्षेत्रमा वर्षा हुँदा सडकमा थुप्रेको लेदो हटाउन सवारीचालक आफैँ सक्रिय हुनुपरेको छ । दुवै पहिरोको क्षेत्रमा योजना कार्यालय, ठेकेदार कम्पनीको प्राविधिक र उपकरण नदेखिएको स्थानीय सडक प्रयोगकर्ता हरिकृष्ण डङ्गोलले बताए । पानी आएपछि माथिबाट बगेको पानीसहितको लेदोले सडक पुरिने गरेको छ । सडक अवरुद्ध हुने गरेको जानकारी ठेकेदार र योजना कार्यालयलाई गराए पनि बेवास्ता गरिरहेका छन् । सडक अवरुद्ध हुँदा दैनिक सयौँ सवारीसाधन र स्थानीय सडक प्रयोगकर्ताले हैरानी र सास्ती पाइरहेका छन् । पहिरो नियन्त्रण गर्न ठेक्का लगाएको काम सुस्त गतिमा भएकाले र अहिले स्थगितजस्तै भएको छ । पहिरो नियन्त्रणको काम पूरा गरिसक्नुपर्ने समयमा मुख्य काम नै नहुँदा सडकमार्ग वर्षा हुँदा हिउँददेखि नै अवरोध हुँदै आएको थियो ।

यो क्षेत्रको वैकल्पिक मार्गको भैँसे, तुप्चेको त्रिशूली नदीको पुलको वारिपारिको दायाँबायाा भाग निर्माण भइरहेकोले वर्षात् भएपछि रसुवागढीदेखि आएका सवारीसाधन घण्टौँ यस क्षेत्रमा रोकिनुपर्ने बाध्यता छ । बेत्रावती, भैँसे र त्रिशूली, ढुङ्गेका स्थानीयको सवारी आवत-जावतमा दैनिक अवरोध हुने गरेको बागमती ग्याबिन बक्सका सञ्चालक उपेन्द्र बुढाथोकीले जानकारी दिऐ । दैनिक यो सडकको दुर्दशाबारे जिल्ला प्रशासन कार्यालयदेखि सडक योजना कार्यालयलाई जानकारी गराउँदा पनि पहिरो पन्छाउने जिम्मेवारी कसको हो थाहा हुन नसकेको स्थानीय व्यापारी कृष्ण प्याकुरेलले गुनासो गरे । यस भेगका बासिन्दा बजार जान, कार्यालय र अन्य काममा विदुर, त्रिशूली आउन वर्षा हुँदा सकस व्यहोरिरहेका छन् ।