रातमाटे, नुवाकोटको दोस्रो र ठूलो भूगोल रहेको बेलकोटगढी नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबन्डा खुलेको छ । गत बुधबार साँझ भूउपयोग परिषद्ले बेलकोट नगरपालिकाभित्रको जग्गाको कित्ताकाट र अंशबन्डा खुलाउने निर्णय गरेको मालपोत कार्यालय नुवाकोटका प्रमुख होमनाथ सेढाईंले जानकारी दिए ।
सङ्घीय सरकारले भूउपयोग ऐन जारी गरेसँगै रोकिएको जग्गाको कित्ताकाट बेलकोटगढी नगरपालिकामा अब खुला भएको हो । मालपोत कार्यालयलाई प्राप्त निर्णयपत्रका अनुसार बेलकोटगढीको जग्गा वर्गीकरण विस्तृतमा उल्लेख भएसँगै कित्ताकाट खुला भएको जानकारीको पत्र बुधबार पठाइएको सेढाईंले बताए । पालिकाभित्रका जग्गाको कित्ताकाट खुला हुँदा नागरिकलाई राहत भएको नगरप्रमुख जगतबहादुर गुरुङले बताए । कित्ताकाट नखुलेका कारण घरजग्गा कारोबारको काम रोकिएको थियो । यसअघि नुवाकोटका १२ स्थानीय तहमध्ये विदुर नगरपालिका, किस्पाङ र म्यागङ गाउँपालिकाले जग्गा वर्गीकरण गरेका थिए । भूमि व्यवस्था, सहकारी गरिबी निवारण मन्त्रालयले गत जेठ २३ गते राजपत्रमा भूउपयोग नियमावली, २०७९ जारी गर्दै जग्गा वर्गीकरणपश्चात् मात्रै खुला हुने भन्दै कित्ताकाट बन्द गरेको थियो । भूउपयोग नियमावलीअनुसार जग्गालाई मुख्यतः कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा विभाजन गर्नुपर्छ । गैरकृषि क्षेत्रअन्तर्गत आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी-खोला-ताल तथा सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र नेपाल सरकारबाट आवश्यकताको आधारमा तोकिने अन्य क्षेत्र भनेर कुल दश समूहसम्म वर्गीकरण गर्न पाइने उल्लेख छ ।






प्रतिक्रिया