राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान तारकेश्वरमा

  • त्रिशूली प्रवाह
  • २१ असार २०८०, बिहीबार १२:३२

दाङसिंह, नुवाकोटको तारकेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान गत हप्ताबाट वडा-वडामा सुरु भएको छ । अभियान वडास्तरबाट थाल्न वडाध्यक्ष र कर्मचारीलाई अभिमुखीकरण गरिएको छ ।

तारकेश्वर गाउँपालिकाको सभाहलमा गत मंगलबार वडाध्यक्ष र कर्मचारीलाई अभिमुखीकरण गरिएको थियो । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको उपस्थितिमा भएको अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अबुद अली, तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को सहभागिता रहेको थियो । ६ वटै वडाको वडाध्यक्ष, सचिव, वडासदस्य, पालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलगायत सरोकारवालाको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवश्यक तयारी गर्न प्रजिअ थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न अपनाइने विधि र प्रक्रियासहित दिएको प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाहलाई सहज बनाई व्यावहारिक ढङ्गले समेट्नुपर्ने बताए । राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने नागरिकता अनिवार्य रूपले बनाउन स्थानीयलाई आग्रह गरिने तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए । अहिले देशभर अभियानको रूपमा जारी रहेको छ । राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियानलाई सघाउन गाउँपालिकाले साथ र सहयोग गर्ने प्रमुख प्रशासकीय अधिकृत सीताराम थापाले बताए । एउटा पालिकामा राष्ट्रिय परिचयपत्रको दर्ता विवरण संकलन कार्यक्रम १० दिनको हुने बताइएको छ । तारकेश्वरमा यसै साताबाट ६ वटै वडा कार्यालयमा प्राविधिक रुजु अधिकारी बसेर काम थालिने भएको छ । राष्ट्रिय परिचयपत्रको दर्ता विवरण सङ्कलनमा सहभागी भएर सेवा लिन गाउँपालिका अध्यक्ष अधिकारीले सबैसँग अनुरोध गरेका छन् । नुवाकोटमा म्यागङ गाउँपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता विवरण सकिएको छ भने दुप्चेश्वर र किस्पाङ गाउँपालिकामा जारी छ ।