मजुवा, अपाङ्गता भएकी नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका-६ मजुवाकी २१ वर्षीया सन्तोषी रिमालले घरमै नागरिकता पाएकी छिन् ।
अपाङ्गताका कारण ओछ्यानमै सुतिरहने रिमाललाई प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रशासकीय अधिकृत सुरेश खतिवडा, कर्मचारी रामचन्द्र पण्डितसहितको टोलीले डड्डामा सहीछाप गराई नागरिकता प्रदान गरेको हो । उनी नागरिकताविहीन हुँदा राज्यबाट पाउने सुविधाबाट वञ्चित थिइन् । अपाङ्गताका कारण उनी ओछ्यानमै सुतिरहन्छिन् । रिमाल बोल्न र यताउता केही गर्न सक्दिनन् । ‘सिडिओले घरदैलोमै आएर नागरिकता दिएपछि सन्तोषीले नागरिकता पाउँदा खुसी लागेको वडाध्यक्ष नारायणप्रसाद रिमालले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । ‘नागरिकता अभावमा अपाङ्गता भएका व्यक्तिले राज्यबाट पाउने सुविधाबाट अब वञ्चित हुन नपरोस्,’ उनको भनाइ छ । वडाध्यक्ष रिमालका अनुसार वडाभरिमा ३७ जना अपाङ्गता भएका व्यक्ति छन् । यो वडामा रातो कार्ड लिने अपाङ्गता व्यक्तिको सङ्ख्या २५ छ । बाँकी १२ जनाले अन्य कार्ड लिन बाँकी छ । कार्यालयसम्म आउन नसकेपछि राज्यबाट पाउने सेवा, सुविधाबाट कोही वञ्चित नहोऊन् भनेर अपाङ्गता भएकालाई घरदैलोमै गएर सेवा दिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।