काहुले, विद्यालय तहको शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक र स्वरोजगारउन्मुख बनाई उच्च शिक्षा र रोजगारीको बलयो जग निर्माण गर्न तथा दक्ष र प्रतिस्पर्धी नागरिक तयार गर्न तल्लीन छ ऐँसेलुभूमे मावि । नुवाकोटको किस्पाङ गाउँपालिका-३ काहुलेमा रहेको ऐँसेलुभूमे माध्यमिक विद्यालय पूर्वाधारको हिसाबमा जिल्लाकै एक मात्र सुविधासम्पन्न विद्यालय बन्न पुगेको छ ।
जिल्लाको दुर्गम ठाउँमा रहेको यस विद्यालयको भौतिक संरचना निर्माण र अन्य सबै प्रकारका सुविधाका हिसाबले ‘फाइभ स्टार’को जस्तै भएपछि पछिल्लो समय चर्चामा रहेको छ । विद्यालयमा निर्माण भएको संरचनाका कारण अन्य ठाउँबाट विद्यालय हाताभित्र प्रवेश गर्ने जोकोहीको मनै लोभ्याउने गर्छ । २५ रोपनी क्षेत्रफलमा फैलिएको यो विद्यालयमा आवास सुविधादेखि कृषि तथा सूचना प्रविधिको हिसाबले बलियो जिल्लाकै एक मात्र विद्यालयका रूपमा विकसित भएको छ । विद्यालयको आफ्नै कम्प्युटर ल्याब, विज्ञान, गणितलगायतका विषयतगत छुट्टाछुट्टै प्रयोगशालासहित पुस्तकालयसमेत विद्यालयमा रहेको छ । कक्षा नौदेखि कक्षा १२ सम्म बालीविज्ञान विषयमा प्राविधिक विषयको पढाइ हुँदै आएको यस विद्यालयमा बाली विज्ञानको आफ्नै ल्याब तथा बिउ-बिजन भण्डारण कक्ष छुट्टै रहेको छ । विद्यार्थीले विद्यालयको आफ्नै जग्गामा कृषि उत्पादन गरी नजिकैको बजारमा बिक्रीसमेत गर्दै आएको कक्षा १२ मा अध्ययनरत छात्रा चन्दा तामाङले बताइन् ।
‘विद्यालयमा बाली विज्ञानको पढाइ हुन थालेपछि हामीले गोलभेँडा रोपेर उत्पादनका लागि तयार पारेका छौँ,’ तामाङले भनिन्, ‘विद्यालयमा सिकेको सीप घरमा पनि प्रयोग गर्ने गरेका छौँ ।’ विद्यालयको आफ्नै जग्गामा बाली विज्ञानको प्रयोगात्मक पढाइ हुने गरेको छ । कृषि ल्याबमा कृषि कर्मका लागि चाहिने उपकरण, बिउ, विषादी तथा अन्य सामग्रीसमेत राखिएको छ । बाली विज्ञान विषयमा एक सय चारजना विद्यार्थी प्राविधिक विषयमा पढ्दै आएका छन् । विद्यालयमा प्रदेश सरकारको विद्यालय नर्स कार्यक्रमअन्तर्गत स्वास्थ्य उपचार हुँदै आएको छ । विद्यालयमा सञ्चालित स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत समुदायका अभिभावकको समेत सामान्य स्वास्थ्य परीक्षण हुँदै आएको छ । विद्यालयमा ६ सय १५ जना विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् । कृषि विषयको प्राविधिक विषयमा एक सय चारजना र साधारणतर्फ पाँच सय ११ जना विद्यार्थी पढ्दै आएको विद्यालयका प्रधानाध्यापक पवन पौडेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा २७ जना शिक्षक छन् । विद्यालय कर्मचारी चारजना रहेका छन् । कृषितर्फ नौजना शिक्षक छन् भने साधारणतर्फ १८ जना शिक्षक रहेका प्रधानाध्यापक पौडेलले बताए । विद्यालयले तीनजना शिक्षक र बाहिरी फिल्डमा एकजना गरी चारजना निजी स्रोतमा राखिएको बताउँदै उनले ती शिक्षकलाई मासिक ८० हजार रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउनुपरेको बताए ।
विद्यालयका लागि सुरुमा अहिलेका व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपानेले पाँच रोपनी आठ आना जग्गा निःशुल्क दान गरेका थिए । विद्यालयका लागि आवश्यक थप जग्गा २० रोपनी विभिन्न समयमा विद्यालयले खरिद गरेको हो । बाली विज्ञान विषयको प्रयोगात्मक कार्य र कृषि उत्पादनका लागि १० रोपनी जग्गा र थप पाँच रोपनी भाडामा लिएर कृषि उत्पादन गर्दै आइरहेको व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले बताए । ०४६ सालमा स्थापना भएको यो विद्यालय नेपाल सरकारको नमुना विद्यालय विकास कार्यक्रममा ०७५ सालमा छनोट भएपछि विद्यालयमा सुविधासम्पन्न संरचना निर्माणले गति लिएको अध्यक्ष न्यौपानेले बताए । पञ्चवर्षीय योजनाअन्तर्गतको अन्तिम वर्षको कार्यक्रम यसै वर्षदेखि सम्पन्न भएको विद्यालयले जनाएको छ । विद्यालयमा प्रभावकारी कम्प्युटर ल्याब, होस्टेल, विद्यालयभित्रै चमेनागृह, विज्ञान प्रयोगशाला, स्मार्ट बोर्डबाट पठन-पाठन हुने गरेको छ । विद्यालयमा दलित तथा जनजाति विद्यार्थीको बाहुल्य रहेको विद्यालयले जनाएको छ । नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत ६ करोड ८२ लाख रुपैयाँ खर्च भइसकेको छ । विद्यार्थीलाई खेलकुदप्रति रुचि बढाउन विद्यालयले आफ्नै फुटसल मैदान निर्माण गरेको छ । फुटसल मैदानमा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन हुने गरेका छन् । विद्यालयको आफ्नै खेलमैदान रहेको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयमा माछापोखरी दक्ष एवम् परिश्रमी शिक्षक रहेकाले विद्यालयमा विद्यार्थीको आकर्षण बढी भएको किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपानेले बताए । प्रधानमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रममा छनोट भएको विद्यालयले गरिब तथा जेहेनदार विद्यार्थीका लागि पढाइका साथै सीप सिक्ने र आर्थिक उपार्जन गर्ने कार्यसमेत सञ्चालन गर्दै आइरहेको छ । यो कार्यक्रम पनि प्रभावकारी भएको विद्यालयले जनाएको छ । (साभार : राजधानी दैनिकबाट)






प्रतिक्रिया