- रामलाल श्रेष्ठ/रमेश सिलवाल
विदुर, नुवाकोट ऐतिहासिक, धार्मिक र पुरातात्विक सम्पदाले भरिपूर्ण हुँदा पनि पर्यटकीय गतिविधि शून्य छ । इतिहासमा समृद्ध र सम्पन्न नुवाकोट अहिले फेरि जुर्मुराउन लागेको छ । जिल्लामा महत्वपूर्ण दुई हजार तीन सय वर्षभन्दा अगाडिको सम्पदा उत्खनन र पुनर्निर्माणमा स्थानीयले चासो लिन थालेपछि नुवाकोट फेरि चर्चामा छ । नुवाकोटको साततले दरबारसहित महत्वपूर्ण सम्पदा ०७२ को भूकम्पबाट क्षति भएपछि पुरातत्व विभागको निगरानीमा चीन सरकारले पुनर्निर्माणको जिम्मा लिएर कार्य सुरु गर्न लागेको छ । नुवाकोट दरबार क्षेत्रसँगैको अर्को पुरानो स्वयम्भू महाचैत्यको उत्खनन गरेर पुनर्निर्माणसमेत सुरु भएको छ । दुवै सम्पदाको पुनर्निर्माणमा नुवाकोटवासीको सक्रिय सहभागिता आवश्यक छ । अरूको साथ र सहयोग जुटाउँदै स्थानीय सरकारले पहल थालेकाले यस क्षेत्रको गुलजार हुने अपेक्षा गर्न सकिन्छ । विदुर नगरपालिका, विदुर नगरपालिका वडा नं.-१ र २ ले आगामी आ.व. ०८०/८१ को बजेटबाट चैत्य पुनर्निर्माणका लागि बजेट विनियोजन गरेका छन् । प्रदेश र सङ्घीय सांसदले पनि सहयोग गर्ने आश्वासन दिएको चैत्य पुनर्निर्माण अभियन्ता गौतममान सिंहले जानकारी दिए ।
उपत्यकाभित्रका तीन दरबार क्षेत्र
इतिहास बोल्छ – मल्लकालीन समयमा नेपाल २२ र २४ गरी ४६ टुक्रामा विभाजित थियो । काठमाडौं उपत्यकाभित्रको नेपाल पनि तीन टुक्रामा विभाजित थियो । उपत्यकाभित्र काठमाडौं, पाटन र भक्तपुर सम्पन्न राज्य थिए भने उपत्यकाबाहिरका बाइसे र चौबीसे राज्य सम्पन्न थिएनन् । वि.सं. १८०० भन्दाअगाडि नै काठमाडौं उपत्यकाभित्रका तीन राज्यले भव्य दरबार निर्माण गरिसकेका थिए । आज ती भव्य दरबारलाई युनेस्कोले विश्व सम्पदा सूचीभित्र राखेर दरबार क्षेत्र भनेर नामकरण गरी पुरातात्विक र ऐतिहासिक सम्पदाको रूपमा संरक्षित क्षेत्रभित्र समेटिएको छ । काठमाडौं उपत्यकाभित्र हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र युनेस्कोले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको रूपमा संरक्षण गर्नुपर्ने दरबार भनेर संरक्षण गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ र चाँगुनारायण गरी चारवटा धार्मिक स्थल छन् । जसलाई युनेस्कोले अर्को ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्रको रूपमा मान्यता दिएको छ । काठमाडौं उपत्यकाबाहिर युनेस्कोले मान्यता प्रदान गरेको क्षेत्रमा लुम्बिनी हो भने चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज हुन् । नेपालसँग काठमाडौं उपत्यकाभित्र सातवटा र उपत्यकाबाहिर तीन गरी १० वटा ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदालाई युनेस्कोले मान्यता दिएको छ । संसारभरका मानिस भ्रमणमा निस्कँदा सबैभन्दा पहिला विश्व सम्पदामा सूचीकृत स्थलको भ्रमण गर्ने चाहना राख्दछन् । नेपाल भ्रमणमा आउने संसारभरका मानिसमा नेपालमा भएका विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भ्रमण गर्ने पहिलो चाहना हुने हुँदा यी स्थल स्वतः पर्यटकीय स्थलको रूपमा पर्यटकको घुइँचो हुने गर्दछ । यही तथ्यलाई मध्यनजर राख्दै नेपाल सरकारले काठमाडौं उपत्यकाबाहिरको गोरखा दरबार क्षेत्र र नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने प्रस्ताव गरेको छ । युनेस्कोले विश्व सम्पदा क्षेत्रको सूचीमा सूचीकृति गर्नासाथ यसको जानकारी एकैचोटि विश्व पर्यटन बजारमा पुग्दछ । संसारभरका पर्यटक नेपाल आउँदा एकपटक विश्व सम्पदा क्षेत्रको भ्रमण गर्ने गर्दछन् ।
उपत्यकाबाहिरका दुई दरबार क्षेत्र
गोरखा दरबार क्षेत्र र नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा क्षेत्रको रूपमा सूचीकृत गर्ने प्रस्ताव गरिए पनि युनेस्कोको मापदण्ड पूरा गर्न सकेको स्थिति छैन । गोरखा दरबार क्षेत्रलाई युनेस्कोको मापदण्डभित्र पार्न राज्यबाट लगानीसमेत भएको छ । गोरखा दरबारको पुनर्निर्माणको काम लगभग सकिएको छ । नुवाकोट दरबारको पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन । भूकम्पले क्षतिग्रस्त पारेको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको ध्यान आजसम्मको गएको छैन । नुवाकोट दरबार क्षेत्रलाई युनेस्कोको सूचीमा सूचीकृत गर्न सकियो भने नुवाकोट जिल्लाले पर्यटनमा ठूलो फड्को मार्नेछ । काठमाडौं उपत्यकापछि पर्यटकले भ्रमण गर्ने स्थलमा पोखरा, चितवन, लुम्बिनी र सगरमाथा क्षेत्र नै हो । नेपालको पर्यटन व्यवसाय धान्ने भनेको विश्व सम्पदामा सूचीकृत स्थल नै हुन् । नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व नबुझ्नाले आजसम्म पनि नुवाकोटका स्थानीय तथा जिल्लावासीसमेत नुवाकोटलाई नुवाकोट दरबार क्षेत्रसमेत भन्न चाहँदैनन् । आजसम्म पनि नुवाकोट दरबार क्षेत्रलाई विदुर नगरपालिका-२ भनेर भन्ने वा लेख्ने प्रचलन छ । नुवाकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत भएको दिन यसको फाइदा सबै जिल्लावासीले पाउने तथा गर्वको महसुस हुनेछ ।
नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा सातवटा ऐतिहासिक तथा पुरातात्विक महत्वका दरबार तथा मन्दिर पर्दछन् । साततले दरबार, गारदघर, रंगमहल, तलेजु मन्दिर, लामपाटी, सेतोपाटी दरबार र भैरवी मन्दिर । पुरातत्व विभागको लगानी र रेखदेखमा भैरवी मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । साततले दरबारसहित र दरबार परिसरस्थित मठ-मन्दिरको पुनर्निर्माण आजसम्म हुन सकेको छैन । चीन सरकारको सहयोगमा दरबारसहित ऐतिहासिक संरचनाको पुनर्निर्माण हुने भनिएको सात वर्ष बितिसकेको छ । यस अवधिमा चिनियाँ ठेकेदारले दरबारलाई घाम, पानी र वर्षात्बाट थप क्षति हुन नदिन टेवा-पर्खालसहित छानो राख्नेबाहेकको केही कार्य अगाडि बढेको छैन । नुवाकोट दरबारसँगै जोडिएको अशोकबाटिकास्थित स्वयम्भू चैत्यको नयाँ तथ्य बाहिर आएको छ ।
नुवाकोट दरबार क्षेत्रभित्रै पुरानो स्वयम्भूनाथको चैत्य भग्नावशेष रूपमा रहेको थियो । यो चैत्यको स्थानीय समुदायमा समेत चासो गएको थिएन । गत केही वर्षदेखि स्थानीय गौतममान सिंहको विशेष पहलमा यो स्वयम्भू चैत्यको ऐतिहासिक तथा पुरातात्विक महत्वबारे जनचासो बढाउने र यसको पुनर्निर्माणमा स्थानीय तथा प्रदेश सरकार साथै स्थानीय तथा देशैभरिको बौद्ध सम्प्रदायबाट आर्थिक सङ्कलनको साथै भ्रमणसमेत गराई बौद्ध तीर्थस्थलको रूपमा नुवाकोट स्वयम्भू चैत्यको पुनर्निर्माणमा भइरहेको छ । नुवाकोट दरबार क्षेत्रमा अवस्थित यो स्वयम्भू चैत्यको उत्खनन र पुनर्निर्माण गर्ने कार्यमा युनेस्कोलाई अनुरोध गर्ने काममा जनप्रतिनिधि र पुरातत्व विभागको समेत पहल भइरहेको देखिँदैन । लुम्बिनी, बौद्धनाथ र स्वयम्भूनाथकै पुरातात्विक महत्वको हाराहारीमा नुवाकोट स्वयम्भूनाथ परिसरमा उपलब्ध भग्नावशेषका यत्रतत्र छरिएका सम्पदाले पुष्टि गर्दै गइरहेको छ ।
नुवाकोट दरबार परिसरस्थित स्वयम्भूनाथको चैत्य अशोककालीन चैत्यको रूपमा प्रमाणित हुन सक्यो भने नुवाकोट जिल्लाकै पर्यटनमा यसले फड्को मार्नेछ । नुवाकोट दरबार क्षेत्र र नुवाकोट स्वयम्भूनाथलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सकियो भने नुवाकोट लुम्बिनी, स्वयम्भू र बौद्धनाथजस्तै बौद्ध धर्मावलम्बीको अर्को तीर्थस्थलको रूपमा स्थापित हुनेछ । आज स्थानीय सरकार र बौद्ध सम्प्रदायको आर्थिक सहयोगमा स्वयम्भू अशोक चैत्यको उत्खनन र पुनर्निर्माणमा गौतममान सिंहको एकल प्रयासमा जे-जस्तो प्रयास अगाडि बढिरहेको छ यसमा सबै जिल्लावासीको चासो र आर्थिक सहयोग रहने हो भने नुवाकोटले विश्व सम्पदा सूचीमा सूचीकृत हुन सक्ने दुईवटा सम्पदा प्राप्त गर्नेछ । यी दुई सम्पदालाई जिल्लावासीले अपनत्व ग्रहण गर्न सके इतिहासलाई वर्तमानमा कायम गर्न सकिन्छ ।






प्रतिक्रिया