+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली बसपार्क सवारीको अन्तिम र सुरु गन्तव्य

त्रिशूली बसपार्क सवारीको अन्तिम र सुरु गन्तव्य
त्रिशूली प्रवाह
२ साल अगाडी

बट्टार, नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीबजारमा रहेको बसपार्कलाई व्यवस्थित र सुरक्षित बनाई सञ्चालनका लागि वडा कार्यालय र यातायात व्यवसायी सहमत भएका छन् । यातायात व्यवसायी, वडाध्यक्षसहितको जनप्रतिनिधि र सरोकारवाला निकायबीच सहमति भएर बसपार्कका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको छ ।

साउन १५ गतेदेखि अनिवार्य रूपमा काठमाडौंबाट आएका बस त्रिशूली बसपार्कमा पुग्ने विषयमा लामो दूरीका यातायात व्यवसायी सहमत भएका छन् । विदुर नगरपालिका-१ को कार्यालयले बसपार्कमा आवश्यक पूर्वाधारको क्रमशः व्यवस्थापन गर्दै लैजाने र रात्रिकालीन अवस्थामा समेत बसपार्कमा सुरक्षा प्रदान गर्ने भएपछि व्यवसायीले आफ्ना सवारीको अन्तिम र सुरु गन्तव्य त्रिशूली बसपार्कलाई बनाउने भएका हुन् । यता, काठमाडांैबाट आएका सबै सवारी अनिवार्य रूपमा त्रिशूली बसपार्क पुग्ने भएका छन् । यसका साथै, त्रिशूली बसपार्कबाट स्थानीय रूपमा चल्ने भाडाका सवारीसाधन कोलोनी अस्पताल हुँदै घुमेर बट्टारतर्फ जाने रुट तय गरेको छ । यस्तै, ढुङ्गेमा हुँदै आएको सवारी चापसमेत घट्ने भएको छ । रसुवाबाट आएका र रसुवा जाने सवारी लामो समयसम्म ढुङ्गेमा रोकिँदा सवारी र यात्रुमा जोखिम रहँदै आएको थियो । त्यसलाई समाधान गर्न वडा कार्यालयले ढुङ्गेभन्दा केही माथि बसपार्क गर्नका लागि अस्थायी केन्द्रको स्थापना गर्ने भएको छ । ढुङ्गेमा यात्रु ओराल्ने र चढाउने मात्रै गरेर रोकिने बस ढुङ्गेमाथिको खाली स्थानमा राखिने भएको छ । सवारी सुरक्षाका लागि वडा कार्यालयले ढुङ्गेमाथि चौडा रहेको सडक किनाराको व्यवस्थापन गर्ने र रातिका लागि समेत राख्न मिल्ने गरी बिजुलीको व्यवस्थापन गर्ने भएको हो । यातायात व्यवसायीसँग छलफल गर्दै विदुर नगरपालिका-१ का वडाध्यक्ष लेनिन रञ्जितले वडा नम्बर-१ मा सडक सुरक्षाका लागि कुनै कसुर बाँकी नराख्ने बताउँदै यातायात व्यवसायीलाई निर्देशनसमेत दिएका छन् । व्यवसायीको र बसपार्कको व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गर्ने बताउँदै उनले यात्रुको सहजताका लागि सवारीको सुरु विन्दुबाट अन्तिम गन्तव्यसम्म अनिवार्य लैजानुपर्ने बताए । अधिकांश यात्रुवाहक सवारीले काठमाडौंबाट त्रिशूलीका यात्रु बोकेर ढुङ्गेमै छाड्ने गरेको गुनासो आएपछि वडाध्यक्ष रञ्जितले यातायात व्यवसायीलाई निर्देशन दिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह