+
Search

ताजा अपडेट +

पपुलर +

औपचारिकतामा सकिएको रोपाइँ दिवस

औपचारिकतामा सकिएको रोपाइँ दिवस
त्रिशूली प्रवाह
२ साल अगाडी

यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव शुक्रबार औपचारिकतामा सकियो । बर्सेनि धान उत्पादन बढ्न नसके पनि देखासिखी गर्दै रोपाइँ महोत्सव गर्ने समूह बढेको छ । सरकारी निकाय र ठूला प्रमुख दलका भ्रातृ संस्थाले तामझामका साथ धान दिवस मनाइरहँदा जग्गा-जमिन बाँझो छाडेर विदेश जाने युवालाई कसैले सम्झेनन् । युवालाई विदेश पलायन हुन बाध्य पार्ने र जग्गा-जमिन बाँझो राखेर विदेशबाट आयातित धान-चामल उपभोगका लागि प्रेरित गर्ने सरकारले दिवसलाई औपचारिकतामै टुङ्ग्यायो ।

सरकारले ०६१ देखि असार १५ लाई राष्ट्रिय पर्वको रूपमा मान्यता दिएर राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु ग¥यो । राष्ट्रिय दिवसको रूपमा असार १५ लाई मनाउन थालेको दुई दशक पुगेको छ । जुन उद्देश्यले राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सुरु भएको थियो, त्यो उद्देश्य पूरा भएका छन् त ? यो प्रश्नको उत्तर खोजीको विषय आज बनेको छ । धान खेत मासिँदै छ, धानखेती गर्नेको सङ्ख्या घट्दै छ, धानखेती गर्नेले मल, बिउ, विषादी, श्रमिक र सिँचाइको अभाव खेप्दै छन् । यसमा सरकारको ध्यान पुगेको छ त ? सरकार सत्ता टिकाउनमै व्यस्त छ । उत्पादन बढाउन न धान उत्पादन हुने जमिन जोगाउन तीन तहका सरकारले सकेका छैनन् । धान उत्पादन हुने क्षेत्रमा बस्ती विकासमा परिणत भइरहेको छ । यसतर्फ तीनै तहको सरकारले ध्यान नदिएर कर्मकाण्डी रूपमा वर्षको एक दिन दिवस मनाउनुको अर्थ छैन । दिवसको एक दिन ठूला-ठूला भाषण गरेर मात्र उत्पादन बढ्दैन भन्ने कुरा सरकारमा रहेकाले हेक्का राख्नुप¥यो ।

मानो रोपेर मुरी फलाउने दिनको रूपमा पनि धान दिवस तथा रोपाइँ महोत्सवलाई नेपालीले मनाउँदै आइरहेका छन् । यो दिवसको दिन अधिकांश स्थानमा रोपाइँ सुरुवात गर्ने गरेको पाइन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले असार १५ गतेलाई दही-चिउरा खाने दिनका रूपमा नेपालीले मनाउँदै आइरहेका छन् । नेपालमा धेरै प्रकारका अन्न उत्पादन हुन्छन् । सबै अन्नको आ-आफ्नै महत्व भए पनि धानको महत्व विशेष छ । धान नेपालको अर्थतन्त्रको मेरुदण्ड त हुँदै हो, त्यसबाहेक धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपमा पनि धानको विशेष महत्व छ । धानको परिकारबिना कुनै पनि चाडपर्व तथा पूजाआजा अपूरा हुन्छन् । दुईजना नेपालीबीच भेट हुनासाथ भात खानुभयो ? भनेर सोध्ने प्रचलन कायमै छ । जनसङ्ख्या वृद्धिको अनुपातमा धान उत्पादनमा वृद्धि हुन सकेको छैन, तर धानको उपभोग भने निरन्तर वृद्धि भइरहेको छ । विगतमा हिमाली तथा उच्च पहाडी क्षेत्रमा धानको भन्दा अरू अन्नका परिकार बढी प्रयोग हुन्थ्यो । तर, हिजो-आज हिमाली तथा उच्च पहाडी क्षेत्रमा पनि धानकै परिकार बढी प्रयोग हुन्छ । स्थानीय उत्पादन बिक्री गर्ने र त्यो पैसाले धानको चामल किन्ने क्रम हिमाली तथा उच्च पहाडी क्षेत्रमा बढ्दो छ ।

कुनै बेला देशको कुन गार्हस्थ्य उत्पादनमा धानको योगदान ४० प्रतिशतभन्दा बढी थियो । धान निर्यातबाट ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन हुन्थ्यो । तर, अहिले कुल गार्हस्थ्य उत्पादनमा धानको योगदान आठ प्रतिशत छ । धान, चामल आयातबापत ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुन थालेको छ । आफ्नो जग्गा, जमिन बाँझो राखेर विदेशबाट आयातित धान, चामल उपभोग बढ्नु भनेको दुःखद पक्ष हो । विगतमा अरू अन्न उत्पादन हुने जग्गा बाँझो रहे पनि केही फरक नपर्ने, तर धान उत्पादन हुने जग्गा बाँझो राखियो भने ठूलो पाप लाग्ने धार्मिक मान्यता थियो । धान र धनलाई पर्याय मानिथ्यो । खेतीपातीतर्फ किसानमा विकर्षण बढ्दै जानुमा मुख्य दोषी भनेका सरकारको नीति-निर्माण तहमा रहने व्यक्ति नै हुन् । नुवाकोट जिल्लाको थानसिंह, चौघडा, ढिकुरे, तुप्चेलगायत धान उत्पादन हुने फाँटमा अहिले बस्ती बसाउन होडबाजी भइरहेको छ । ती फाँटमा कुलाहरूबाट सयौँ वर्षदेखि धान रोपाइँ हुँदै आएको थियो । तर, ती कुला अहिले जीर्ण भइसकेका छन् । मर्मतका लागि राज्यले बजेट दिँदैन । राजा–राणाको शासनकालमा धानखेतीका लागि राज्यस्तरबाट धेरै लगानी गरिएको थियो, यति बेलाको गणतान्त्रिक कार्यकालमा त्यति लगानी गरिएको छैन । नेपालकै पानीले सिँचाइ गरेर भारतले नेपाललाई वार्षिक खर्बौँ रुपैयाँबराबरको धान निर्यात गर्ने गरेको छ । तर, नेपालमा न सिँचाइको व्यवस्था गरिएको छ, न मल कारखाना स्थापना गरिएको छ । जबसम्म धानमा नेपाल परनिर्भर हुन्छ तबसम्म समृद्धि असम्भव छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह