
काठमाडौं, बागमती प्रदेश बुद्धिचाल सङ्घले काठमाडौंमा गत साता आयोजना गरेको ‘नेसनल आर्बिटर सेमिनार’मा नुवाकोटका क्षितिज श्रेष्ठ र चन्द्रलाल तामाङ सहभागी भई सफलतापूर्वक उत्तीर्ण भएका छन् । उनीहरू बुद्धिचाल (चेस)को आर्बिटर (निर्णायक) सेमिनारमा सहभागी हुने नुवाकोटकै पहिलो व्यक्ति हुन् ।
नेपाल बुद्धिचाल महासङ्घले लिएको परीक्षा पनि सफलतापूर्वक उत्तीर्ण गरेकाले अब उनीहरूले नेसनल आर्बिटर (एनए)को टाइटल हासिल गर्नेछन् । महासङ्घको सिफारिसमा विश्व बुद्धिचाल महासङ्घ (फिडे)ले एनए टाइटल प्रदान गर्नेछ । यसका निम्ति प्रक्रिया सुरु भइसकेको महासङ्घले जनाएको छ । ६ वर्षयता पहिलोपल्ट काठमाडौंमा आयोजित सेमिनारमा विभिन्न जिल्लाका ५१ जना सहभागी थिए । नुवाकोट जिल्ला बुद्धिचाल सङ्घको सिफारिसमा सेमिनारमा सहभागी श्रेष्ठले भने, ‘नेसनल आर्बिटर सेमिनारमा जिल्लाकै पहिलोपल्ट सहभागी हुन मलाई अवसर दिनुभएकोमा अध्यक्षलगायत सङ्घका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद ।’ उनले भने, ‘जिल्ला सङ्घले दिने जिम्मेवारी, जिल्लामा हुने प्रतियोगिता र चेसको विकासमा सक्रिय सहभागिताका लागि सधैँ तयार रहेको छु ।’