+
Search

ताजा अपडेट +

पपुलर +

गुणस्तर जाँच्न जनप्रतिनिधीको टोली सडकमा

गुणस्तर जाँच्न जनप्रतिनिधीको टोली सडकमा
त्रिशूली प्रवाह
२ साल अगाडी

छहरे, नुवाकोट-काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको टोखा–छहरे सडक निर्माणको शनिबार नुवाकोटका जनप्रतिनिधिसहित स्थानीयले कालोपत्रे उप्काएरै स्थलगत निरीक्षण गरेका छन् । उक्त सडकखण्डको अन्य भागको निर्माण सन्तोषजनक भए पनि शिवपुरी गाउँपालिका-८ नम्बर वडा कार्यालय भन्दा पश्चिमतर्फ गरिएको कालोपत्रेमा गम्भीर लापरबाही भएको निरीक्षण टोलीले बताएको छ ।

उक्त सडकको कालोपत्रे उप्काएरै सङ्घीय सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङ, बागमती प्रदेश सभा सदस्य एवम् पूर्वउपसभामुख राधिका तामाङ, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीसहित जनप्रतिनिधि र स्थानीयले शनिबार स्थलगत निरीक्षण गरेका थिए । सडक निरीक्षणमा जनप्रतिनिधिसँग नेकपा माओवादी केन्द्र शिवपुरीका अध्यक्ष मीनबहादुर तामाङ, शिवपुरी गाउँपालिका-८ का निर्वाचित वडाध्यक्ष वीरबहादुर तामाङलगायत स्थानीय नेता तथा स्थानीय बासिन्दाको सहभागिता थियो । निरीक्षण गर्दा उक्त पिच निर्माण व्यवसायीले मापदण्डविपरीत गरेको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख ठकुरीले बताए । हतार-हतारमा मापदण्डविपरीत गरिएको कालोपत्रे जनप्रतिनिधि र स्थानीयले हातैले उप्काइएको दृश्य सार्वजनिक भएको छ । उक्त सडकखण्डको मर्मतको जिम्मा शिवशङ्कर निर्माण सेवाले लिएको हो । जसको मुख्य व्यक्ति बट्टारनिवासी शिव श्रेष्ठ हुन् । नुवाकोट निर्वाचन क्षेत्र नम्बर-१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री हितबहादुर तामाङले चिसो माटोमा ग्राभेलसमेत नगरेको, आवश्यक ठाउँमा अलकत्रा नराखी पिच गरेर निर्माण व्यवसायीले गैरजिम्मेवार तरिकाले काम गरेको पाइएको जानकारी दिए । उनले प्राविधिक हिसाबले नापजाँच गर्दा मापदण्ड पुग्ने र स्थानीय उपभोक्ता सन्तुष्ट हुने अवस्था नभएसम्म भुक्तानी नदिन आफूहरूले सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएकोसमेत उनले बताए ।

‘सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमाललाई सम्पर्क गरी उक्त खण्डको सडक निर्धारित गुणस्तरअनुसारको कार्य नभएकाले निर्माण व्यवसायलाई भुक्तानी नदिन र निर्माण व्यवसाय कम्पनीलाई कारबाही प्रक्रिया अघि बढाउन निर्देशनसमेत पूर्वमन्त्री तामाङले दिएका छन् । उक्त सडकखण्डमा कार्यालयले जिम्मा दिएर पठाएको इन्जिनियरलाई कारबाही गर्न र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न जनप्रतिनिधि र स्थानीयले माग गरेका छन् । सडक निरीक्षणमा पुगेकी बागमती प्रदेशकी सांसद एवम् पूर्वउपसभामुख राधिका तामाङले पनि यसखालको लापरबाही आफूले पहिलोपटक देखेको बताइन् । ‘पिच एक इन्च पनि छैन । बेस राम्रो नगरी माटोमा नै पिच हालिएको छ । पुरानो पिचमाथि पनि सफा नगरी कालोपत्र गरिएको छ,’ उनले भनिन्, ‘यस्तो लापरबाही अहिलेसम्म देखेकी थिइनँ । हदैसम्मको भएछ ।’ कानुनी हिसाबले अनुगमन गर्ने अधिकार जनप्रतिनिधिलाई नभए पनि स्थानीयको बोलावटपछि निरीक्षणमा गएको उनले प्रस्ट पारिन् । प्रदेश सांसद तामाङले प्राविधिक रूपमा उक्त सडकको नापजाँचको विषयमा जिल्ला समन्वय प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले प्रक्रिया अगाडि बढाउने बताएको जानकारी पनि गराएका छन् ।

०७४ अघि निकै दयनीय अवस्था रहेको टोखा-छहरे सडक केही वर्षकै अन्तरालमा अन्यत्र राम्रो काम भएकोमा निरीक्षण गरेर फर्केपछि पत्रकारसँग कुरा गर्दै जनप्रतिनिधि टोलीले खुसी व्यक्त गरेको छ । सङ्घीय सांसद तामाङले पनि आफूहरूकै पालामा टोखा-छहरे सडकको अवस्था निकै सुधार भएको दाबी गर्दै ०७४ पछि मात्रै यो मार्गलाई पटक-पटक गरी सङ्घीय सरकारबाट ४२ करोडभन्दा बढी रकम पारिएको जानकारी गराए । ‘०७४ सालमा सङ्घीय संसद्मा निर्वाचित भएदेखि पटक-पटक गरी सङ्घीय सरकारबाट राजमार्ग पुनस्र्थापना शीर्षकमा ४२ करोडभन्दा बढी रकम पारेर बनाएको सडक अन्यत्र राम्रो भए पनि जनज्ञान मावि सातदोबाटोआसपासको दुर्गति देखेपछि ज्यादै दुःख लागेको छ,’ तामाङले भने । उनले नुवाकोट र रसुवाका जनता राजधानी आवत-जावत गर्ने मुख्य मार्ग टोखा-छहरे निर्माणमा कमजोरी भएको खण्ड नसुधारिएसम्म ठेकेदार र कर्मचारीलाई नछाड्ने चेतावनीसमेत दिएका छन् । ‘रसुवाको सिङ्गै र नुवाकोटको ८० प्रतिशत जनता यो बाटोबाट हिँड्छन् । त्यसैले अरू गाउँको बाटो बनेर सार्थकता नपाउने भएर हामीले यसैलाई महत्व दिएका हौँ । यो बिग्रिएको खण्ड नसुधारीकन ठेकेदार र कर्मचारीलाई हामी छोड्दैनौं,’ उनले भने, ‘यदि यस्तै अवस्थामा बाटो निर्माणको भुक्तानी दिइएछ भने भुक्तानी दिने कार्यालयविरुद्ध पनि हामी अख्तियारमा जानुपर्ने हुन सक्छ ।’ सडक डिभिजन कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् साइट इन्जिनियर सुमनराज बस्नेतले जनज्ञान माध्यमिक विद्यालयनजिकबाहेक अन्यत्र समस्या नरहेको दाबी गरे । उनले निर्माण व्यवसायीले काम नसकाएकाले भुक्तानी दिन पनि बाँकी रहेको बताएका छन् ।

‘जनज्ञान माध्यमिक विद्यालयनजिक खाल्डो थियो । त्यसमा माटो भरेर सडकको लेभलमा बनाउने काम गर्ने, तर पिच नगर्ने भनेका थियौँ । तर, निर्माण व्यवसायीले धुलो उड्छ भनेर पिच गराए । त्यहाँ मात्र समस्या हो । अन्यत्र समस्या छैन,’ उनले भने, ‘समयमै काम नसकिएकाले भुक्तानी दिएका छैनौँ । ६ सय मिटरको काम जिम्मा लिएकोमा अहिलेसम्म कार्य प्रगति ५० प्रतिशत मात्रै देखिएको छ ।’ इन्जिनियर बस्नेतका अनुसार सडक बोर्डको ५० लाख रुपैयाँ बजेटमा सामान्य मर्मत शीर्षकअन्तर्गत त्यस खण्डको निर्माण सम्झौता गत मङ्सिर/पुसमा भएको थियो । सम्झौताअनुसार असार २५ गतेसम्ममा सकिने गरी ढलानबाहेकका ठाउँमा दुई सेन्टिमिटरको मोटाइमा पिच गर्ने भन्ने रहेको उनले बताए । इन्जिनियर बस्नेतले भने, ‘सडक चुस्त-दुरुस्त नबनाएसम्म भुक्तानी रोकिनेछ ।’ सङ्घीय सांसद तामाङका अनुसार कार्यालय प्रमुख रिमालले तत्काल बिल स्वीकृत नगर्ने, भुक्तानी नदिने र गुणस्तरअनुसारको काम त्यही कम्पनीलाई दिने र तोकेअनुसारको काम गरेपछि मात्रै भुक्तानी दिने कुरामा सहमति जनाएका छन् । वडा कार्यालयबाट सफल पाहुनाघर हुँदै गुर्जेभन्ज्याङतर्फको आसफाल्ट पिचको कुनै समस्या नदेखिएको सांसद तामाङको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह