धुन्चे, नेपाल याताया स्वतन्त्र मजदुर सङ्गठन र नेपाल ट्रक कन्टेनर व्यवसायी प्रा.लि.ले चीन र नेपालबीच व्यापारिक सम्बन्ध जोड्ने र नेपालको अर्थतन्त्रमा योगदान गर्ने काम गरिरहेको ट्रक-कन्टेनरका चालक, सहचालक तथा व्यवसायीलाई केरुङ जाने पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालय र अध्यागमन विभागमा ज्ञापनपत्र बुझाएका छन् ।
सीमा प्रवेश पास नपाउँदा श्रमिकले काम गर्न नसक्ने अवस्था उत्पन्न भएको, टिमुरेसम्म ट्रक-कन्टेनर ल्याएर रसुवाकै प्रवेश पासवाला चालक खोज्नुपर्ने, चर्काे मूल्य तिरेर केरुङ पठाउनुपर्नेलगायतका समस्या भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । सङ्गठन र व्यवसायीका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई असार २६ गते ज्ञापनपत्र बुझाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अरनिको ट्रक एकाइ कमिटीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ, नेपाल ट्रक-कन्टेनर व्यवसायी प्रा.लि.का सञ्चालक शम्भु तिमल्सिनाकोे टोलीले रसुवागढी चीन प्रवेश अनुमतिको बेथितिको अन्त्यबारे, सुरक्षा र चासो, सडक सुशासन र सडक सुरक्षाबारे समस्या समाधानका लागि प्रजिअलाई अवगत गराउँदै ज्ञापनपत्र बुझाएका थिए । प्रजिअ प्रकाशचन्द्र अधिकारीले ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्रमा उल्लेख भएका माग सत्य-तथ्य बुझेर सहजीकरण गर्न सहयोग गर्दै गृह मन्त्रालय र अध्यागमन विभागमा ज्ञापनपत्र पठाइदिने बताए ।