प्रथम बलदाइ स्मृति कपको उपाधि धुन्चेलाई

  • त्रिशूली प्रवाह
  • २८ असार २०८०, बिहीबार १२:४३

धुन्चे, जिल्ला खेलकुद विकास समिति रसुवाको पूर्वअध्यक्ष स्वर्गीय बलबहादुर नगरकोटीको स्मृतिमा सञ्चालित प्रथम बलदाइ स्मृति कप फुटसल प्रतियोगिताको उपाधि धुन्चे जागुअर्सले हात पारेको छ ।

शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्ज्वलित समाज (अकियास) रसुवाले असार २० देखि २३ गतेसम्म सञ्चालन गरेको फुटसल प्रतियोगितामा १० टिमले भाग लिएका थिए । प्रतियोगितामा सानदार खेल प्रदर्शन गर्दै हिमालयन युथ क्लब दोस्रो र वेरलुङ/व्वाइज तेस्रो भएका छन् । प्रथम हुनेले नगद ३० हजारसहित प्रमाणपत्र र ट्रफी, दोस्रो हुनेले नगद १५ हजारसहित प्रमाणपत्र र तेस्रो हुनेले पाँच हजार र प्रमाणपत्र पाएका थिए । रसुवा जिल्लामा फुटसल खेलको विकाससँगै युवामा रहेको अन्तर्निहित क्षमताको प्रस्फुटन र उनीहरूमा रहेको सीपको विकास गरी युवाशक्तिलाई समाज विकास र रूपान्तरणको मार्गमा अग्रसर गराउने उद्देश्य रहेको आयोजकले बताएको छ । खेलको माध्यमबाट यस क्षेत्रमा सकारात्मक विकास गराई बलदाइले खेल क्षेत्रमा महत्वपूर्ण योगदान गरेको कुरालाई नयाँ पुस्तालाई स्मरण गराउन यो फुटसल खेल खेलाइएको आयोजक अकियासका अध्यक्ष निवेश श्रेष्ठले बताए ।

यस अकियास संस्थाले छोटो समयमा नै रसुवा जिल्लामा आफ्नो पहिचान बनाई आफ्नो पिताको स्मरण गरेको र खेलबाट पितृको सम्मान गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । अकियास रसुवाको अध्यक्ष निवेश श्रेष्ठसहित चारजना भाइले बुबाको स्मृतिमा प्रथम बलदाइ स्मृति कपको आयोजना गरेका हुन् ।