नुवाकोटका सातजना कृषकले प्रभु बैंकको ४० लाखको सहुलियतपूर्ण कर्जाको चेक पाए

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार ११:४२

पञ्चकन्या, प्रभु बैंक लिमिटेडले नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अनुशासित र आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानलाई सहुलियतपूर्ण कृषि कर्जा गत असार १८ गते उपलब्ध गराएको छ ।

बैंक र हेफर इन्टरनेसनल नेपालबीच गत वर्षको साउन ५ गते युवा तथा महिला उद्यमी र साना किसानलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार नुवाकोटको विदुर नगरपालिका बट्टारमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, हेफर इन्टरनेसनलका सहनिर्देशक प्रकाश कटुवाल, प्रभु बैंक लिमिटेडका ग्लोबल मार्केट्स प्रमुख सुजिन शाक्य र माइक्रो फाइनान्स विभाग प्रमुख प्रवीणकुमार दाहालले संयुक्त रूपमा गाउँपालिकाका सातजना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीलाई ४० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरेका थिए । सो अवसरमा गाउँपालिकाका अध्यक्ष तामाङले पञ्चकन्याका किसानलाई बैंकले ठूलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेका छन् । उक्त सम्झौताअनुरूप हेफर इन्टरनेसनल नेपालका तर्फबाट प्रवद्र्धित सहकारीले सहुलियतपूर्ण ऋण लिन इच्छुक उद्यमीको पहिचान गरी कर्जा लिन योग्य उद्यमीलाई बैंकमा सिफारिस गर्नेछन् । त्यसैगरी, स्थानीय सरकारले कर्जा सदुपयोगको अनुगमन गरी आवश्यक अन्य व्यावसायिक विकासका सेवा प्रदान गर्न सहयोग तथा सहजीकरण गर्नेछ । हेफरले ४४ जिल्लाका करिब चार लाख पिछडिएका गरिब परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस संस्थाले हालसम्म दुई सय ७० सामाजिक उद्यमी महिला सहकारीमार्फत वित्तीय पहुँच पु¥याउन सहजीकरण गर्दै आएको छ ।