- सरस्वती न्यौपाने
धुन्चे, रसुवाको आमाछोदिङ्मो गाउँपालिकाभित्रको खर्कमा व्यावसायिक रूपले पशुपालन गरिरहेका कृषकलाई गाउँपालिकाले निःशुल्क सोलार प्यानल वितरण गरेको छ ।
खर्क उज्यालो कार्यक्रमअन्तर्गत याक, नाकचौँरी तथा भेडा–बाख्रा पाल्ने किसानलाई निःशुल्क सोलार सेट वितरण गरेपछि लेकमा बस्न विद्युत्को अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने स्थितिको अन्त्य हुने भएको छ । कृषकलाई रातमा पनि काम गर्न र मोबाइल तथा रेडियो र गीत बजाउन सजिलो होस् भनेर सौर्य ऊर्जा प्रणाली गाउँपालिकाले वितरण गरेको अध्यक्ष बुचुङ तामाङले जानकारी दिए । पालिकाले १७ लाख ६० हजार रुपैयाँमा दुईवटा बत्ती बाल्न मिल्ने र दुईवटा मोबाइल चार्ज गर्न मिल्ने खालको सोलार खरिद गरी कृषकलाई वितरण गरेको हो । जिल्लाको गत्लाङ, ग्रे, चिलिमे, गोल्जुङ, हाकु गरी पालिकाको पाँचवटै वडाका दुई सय २० वटा गोठलाई सोलार प्यानल सेट वितरण गरिएको छ । भौगोलिक हिसाबले पनि उच्च ठाउँमा विद्युत् विस्तार गर्न कठिनाइ भइरहेको अवस्थामा सोलारले किसानलाई परेको समस्याप्रति मल्हम लगाउने काम हुने विश्वास लिइएको अध्यक्ष तामाङले बताए । कृषकलाई रातिको समयमा पनि दूधजन्य वस्तुको काम गर्न सहज र व्यवस्थापन गर्न सहज हुने बताइएको छ ।