च्वाडीका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार १२:०४

पिपलटार, विदुुर नगरपालिका-५ च्वाडी माझीटारमा रहेको च्वाडी पब्लिक माध्यमिक विद्यालयबाट ०७९ सालमा एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान, शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालको अध्यक्षतामा भएको थियो ।

च्वाडी माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा शिक्षाविद् रामप्रसाद जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई शुभकामना दिँदै स्थापनाकालदेखि ज्यादै नै सङ्घर्ष गरेर एक सय ४३ रोपनी विद्यालयको नाममा जग्गा जोडेकाले त्यसलाई नापजाँच गरी सुरक्षित राख्ने प्रबन्ध मिलाउन विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई अनुरोध गरे । कार्यक्रममा प्रधानाध्यापक टीकाराम खरेलले स्वागत गर्दै विद्यालयले कक्षा ११–१२ मा पढाइ गरिरहेको विषयबारे जानकारी दिएका थिए । विद्यालयमा विद्यार्थीलाई टिकाइराख्न विद्यालयले नयाँ आयाम ल्याउनुपर्ने र विद्यार्थीको शैक्षिक गुणस्तर विकास गर्न सधैँ विद्यालयसँगै स्वयम् लागिपर्ने प्रतिबद्धता माध्यमिक शिक्षक मणिराज घिमिरेले कार्यक्रममा गरे । नतिजा राम्रो आए पनि सन्तोषजनक अझै नरहनु विद्यालयमा रिक्त रहेको गणित, विज्ञान र अर्थशास्त्रको दरबन्दी समयमै उपलब्ध नभएकाले आगामी वर्ष राम्रो नतिजा ल्याउन विद्यालय व्यवस्थापन समिति लागिपर्ने विद्यालय व्यवस्थापन समिति सदस्य राजकुमार अर्यालले बताए । सो कार्यक्रममा विगतको वर्षमा हेरी यस वर्ष केही राम्रो नतिजा आएको अभिभावक राजेन्द्र श्रेष्ठको ठम्याइ छ । अझै शैक्षिक गुणस्तर बढाउन विद्यालय व्यवस्थापन समितिले उपसमिति गठन गरी शैक्षिक सुधारका कार्य अगाडि बढाउनुपर्ने धारणा अभिभावक सङ्घका अध्यक्ष शिवबहादुर कुमालले राखे ।

एसईई उत्तीर्ण छात्र/छात्रा, अभिभावक, शिक्षक, रुम टु रिड पढ्नका लागि कोठा बालिका शिक्षा कार्यक्रमका प्रतिनिधिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायतले खादा र टीका लगाएर सम्मान गरेका थिए । त्यसैगरी, रुम टु रिड पढ्नका लागि कोठा बालिका शिक्षा कार्यक्रमअन्तर्गत कक्षा १० मा जीवनोपयोगी सीप सत्र पूरा गरेका एसइई उत्तीर्ण छात्रालाई तालिम सम्पन्न प्रमाणपत्रसमेत सो अवसरमा प्रदान गरिएको थियो । विगतमा भए–गरेका कमी–कमजोरी औँल्याई सरोकारवालासँग छलफल गरी आगामी वर्षमा पनि विद्यालयको एसइई नतिजा र सम्पूर्ण भौतिक शैक्षिक पक्षलाई अझै कसरी गुणस्तर प्रदान गरी राम्रो नतिजा ल्याउन सकिन्छ भन्नेबारे विद्यालय, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय हुनुपर्ने विद्यालयका लेखा शाखाका रामहरि सडौलाले बताए ।