राष्ट्रिय परिचयपत्र दर्ता अभियान सूर्यगढीमा सुरु

म्यागङका ६,०१२, किस्पाङका ५,३८५, दुप्चेश्वरका ८,४३८ र अभियान जारी रहेको तारकेश्वरका ३,६४६ ले विवरण भरिसकेका छन्

  • त्रिशूली प्रवाह
  • ४ श्रावण २०८०, बिहीबार १२:१६

विदुर, नुवाकोटमा गत ०८० जेठ १२ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सोमबारदेखि सूर्यगढी गाउँपालिकाको सबै वडामा सुरु भएको छ । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान म्यागङ गाउँपालिकाबाट सुरु भएको थियो ।

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानबारे सूर्यगढी गाउँपालिकाका सबै वडाध्यक्ष र वडाका कर्मचारीलाई गत असार २८ गते बिहीबार अभिमुखीकरण गरिएको थियो । सो कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अबुद अली, सूर्यगढी गाउँपालिका– ४ का वडाध्यक्ष तथा प्रवक्ता रामशरण राई, पाँचवटै वडाको वडाध्यक्ष तथा सचिव, वडासदस्य, पालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलगायत अन्य सरोकारवालाको सहभागितामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवश्यक तयारीको छलफल भएको थियो । कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न अपनाइने ऐन, नियम, विधि र प्रक्रियाबारे सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले प्रशिक्षण दिएका थिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाहलाई सहज बनाई व्यावहारिक ढङ्गले समेट्नुपर्ने बताए । सेवाग्राहीलाई सदरमुकाम विदुरसम्म धाउनुपर्ने बाध्यता हटेकाले यो अभियानमा बढीभन्दा बढी सहभागी गराउन जनप्रतिनिधि र वडाका कर्मचारीलाई उनले आग्रह गरे ।

राष्ट्रिय परिचयपत्र बनाउन आवश्यक पर्ने नागरिकतालगायत कागजपत्र बनाउन स्थानीयलाई आग्रह गरिने सूर्यगढी गाउँपालिका–४ का वडाध्यक्ष एवम् प्रवक्ता राईले बताए । अहिले देशभर उक्त कार्यक्रम अभियानको रूपमा जारी रहेको छ । राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियानलाई सघाउन गाउँपालिकाको साथ–सहयोग रहने प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलले बताए । एक वडामा सातदेखि १० दिनभित्रमा राष्ट्रिय परिचयपत्रको दर्ता विवरण सङ्कलन कार्यक्रम गरिसक्ने बताइएको छ । साउनको पहिलो साताबाट पाँचवटै वडा कार्यालयमा प्राविधिक, रुजु अधिकारी बसेर काम थाल्ने तयारी भइरहेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अलीले प्राविधिक समस्या र समाधानका उपायमा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै रुजु गर्ने र भर्ने तरिकाबारे जानकारी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले ०७७ असारदेखि जिल्लाबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु गरेको थियो । कार्यालयबाट हालसम्म ४४ हजारले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिसकेका छन् । दर्ता गरेकामध्ये एक हजार चार सय ८१ जनाको राष्ट्रिय परिचयपत्र कार्ड आइसकेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिँदै उक्त कार्ड यसै हप्ता वितरण गर्ने तयारी भइरहेको बताए । राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानमा अहिलेसम्म म्यागङ गाउँपालिकाका ६ हजार १२, किस्पाङ गाउँपालिकाका पाँच हजार तीन सय ८५, दुप्चेश्वर गाउँपालिकाका आठ हजार चार सय ३८ र तारकेश्वर गाउँपालिकाका तीन हजार ६ सय ४६ ले विवरण भरिसकेकोसमेत उनले जानकारी गराए । तारकेश्वर गाउँपालिकामा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान जारी रहेको छ भने सूर्यगढीमा सुरु भइरहेको छ ।