विदुर, नुवाकोटमा सवारी नियम उल्लङ्घन गर्नेको सङ्ख्या हरेक वर्ष बढिरहेको छ । सवारी नियम उल्लङ्घन गर्नेमा दुईपाङ्ग्रे (स्कुटर/मोटरसाइकल)को सङ्ख्या बढी छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आर्थिक वर्ष ०७९/८० मा १८ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । गत आ.व.मा ट्राफिक नियमविपरीत सञ्चालन भएका १८ हजार चार सय ६८ सवारीसाधन कारबाहीमा परेका थिए । कारबाहीमा परेका सवारीसाधनबाट एक करोड ४८ लाख २५ हजार राजस्व सरकारी खातामा जम्मा भएको छ
ट्राफिक नियम उल्लङ्घन गरेर कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । आ.व. ०७९/८० मा आठ हजार एक सय १८ वटा स्कुटर/मोटरसाइकल र सबैभन्दा कम टेम्पो (अटो रिक्सा) २१ वटा कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मोटरसाइकलको सङ्ख्या आ.व. ०७८/७९ को तुलनामा भने कम हो । ब्लुबुक र लाइसेन्सबिना मोटरसाइकल हाँक्ने, अत्यधिक गति गर्ने, हेल्मेट नलगाई मोटरसाइकल चलाउने, स्वरूप बिगार्ने मोटरसाइकल कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जानकारी दिएको छ । त्यस्तै, आ.व. ०७९/८० मा ट्र्याक्टर ६ सय ३८, जिप, कार र भ्यान दुई हजार पाँच सय २४ कारबाहीमा परेको कार्यालयले जानकारी दिएको छ । गत आ.व.मा दुई हजार चार सय ५० बससमेत कारबाहीमा परेका छन् । धेरै यात्रु बोक्ने, कागजपत्र ठीक नभएको, अत्यधिक गति गर्ने बसलाई कारबाही गरिएको छ । विगतको तुलनामा कारबाहीमा पर्ने ट्रक र टिपरको सङ्ख्या हरेक वर्ष बढेको छ । अत्यधिक भार बोकेका, अत्यधिक गतिमा कुदाउने, लाइसेन्स, ब्लुबुकविना सवारी हाँक्ने, ढालाभन्दा माथि निर्माण सामग्री बोक्ने, ढुङ्गा तथा माटो बोक्दा ढाला नछोपी सडकमा सवारी कुदाउने टिपरलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसरी कारबाहीमा पर्ने गत आ.व.मा टिपर र ट्रकको सङ्ख्या चार हजार सात सय १७ रहेको वरिष्ठ प्रहरी नायव निरीक्षक राजीवकुमार तिवारीले जानकारी दिए । उनले भने, ‘धेरै टिपर र ट्रकलाई ओभरलोडमा कारबाही गर्नुपरेको छ, पटक–पटक कारबाही गर्दासमेत अटेर गर्ने गर्छन् ।’
आ.व. ०७९/८० मा १८ हजार चार सय ६८ सवारीसाधनलाई कारबाही गर्दा एक करोड ४८ लाख २५ हजार राजस्व सङ्कलन भएकोसमेत उनले जानकारी दिए । यो रकम अघिल्लो आ.व. ०७८/७९ को तुलनामा १३ लाख २९ हजार रुपैयाँले बढी हो । ट्राफिक कार्यालयले ट्राफिक नियम प्रभावकारी कार्यान्वयन गर्न विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । तर, सवारी चलाउँदा लापरबाही गर्नेको सङ्ख्या पनि घट्न सकेको छैन । प्रहरीले ट्राफिक नियम जाँचमा कडाइ गर्दा पनि कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेको नुवाकोट प्रहरीले जानकारी दिएको छ । गत आ.व. ०७९/८० मा ट्राफिक प्रहरीले एक सय ५० पटक दुर्घटना न्यूनीकरण गर्ने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा चालक, यात्रु, विद्यार्थी, ग्यारेजका मिस्त्री, यातायात व्यवसायी, सडक प्रयोगकर्ता गरी ११ हजार पाँच सय २१ जनाको सहभागिता रहेकोसमेत प्रहरीले जानकारी दिएको छ । ट्राफिकले गत आ.व.मा सचेतनामूलक पर्चा, पम्प्लेट ६६ पटक ३६ सयलाई वितरण गरेको थियो ।
सवारी चेकजाँचमा कडाइ
जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मातहतका क्षेत्रमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेको जाँचदेखि द्रुतगति र आवश्यक कागजातसमेतको चेकजाँच गरिरहेको छ । जिल्लामा दैनिकजसो ढिकुरे, खरानीटार, गुर्जेभञ्ज्याङ, तारुकाघाट, ककनी, ओखरपौवा र विदुर चेकपोस्टले पटक-पटक फरक स्थानमा बेलुका साँझको समयमा मापसे गरी सवारीसाधन चलाएको हो कि होइन भन्ने चेकजाँच दैनिकजसो गरिरहेको छ । आवश्यकभन्दा बढी गतिमा सवारी चलाएको पाइए सवारी र चालक दुवैलाई नियन्त्रणमा लिएर कारबाही गरिने ब्लुबुक र लाइसेन्ससहित कागजात साथमा नभएका सवारीलाई समेत कारबाही गरिरहेको प्रहरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी रमेश पण्डितले ट्राफिक नियमको पालना गर्नु सबैको कर्तव्य हुने भएकाले ट्राफिक नियम उल्लङ्घन हुन नदिने गरी काम अघि बढाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको बताए । जिल्ला प्रहरी प्रमुख भएर आउनेबित्तिकै उनले आफ्नो ध्यान ट्राफिक नियमको पालना गर्ने-गराउनेतर्फ केन्द्रित गरिरहेका छन् । साँघुरो बजार क्षेत्रमा हुने यातायात व्यवस्थापन, अव्यवस्थित सवारी व्यवस्थापन र ट्राफिक नियमको पालनामा कडाइ गरिएको एसपी पण्डितले बताए । सवारी भाडादरसहित अन्य गुनासोको उचित सम्बोधनका लागि गृहकार्य भइरहेकोसमेत जानकारी दिए । रसुवागढी नाकाबाट केही महिनादेखि आवत–जावत खुला गरिएसँगै अवैध सामान भित्र्निे आशङ्कामा नुवाकोट प्रहरीले जिल्लाभित्र राजमार्गमा सवारीसाधनलाई रोकेर विशेष चेकजाँच कडा गरिरहेको छ । जिल्लाको बेत्रावतीदेखि काठमाडौं–धादिङको सिमानासम्मको राजमार्गको मुख्य–मुख्य स्थानमा निगरानी गरिरहेकोसमेत उनले बताए ।