विदुर, नयाँ संविधान २०७२ जारी भएपछि नुवाकोटको साबिक ६१ गाविस र एक नगरपालिका समेटेर राज्य पुनर्संरचना आयोगले १२ पालिका बनाउने प्रस्तावअनुसार जिल्लाका राजनीतिक नेतृत्व र राजनीतिक दलको सहमतिमा १२ पालिका बनाइयो । १२ पालिकामध्ये ०४३ सालमा बनेको विदुर नगरपालिकाबाहेक अरू ११ वटा पालिका नयाँ भएकाले कार्यालय सञ्चालनका लागि भवनविहीन थिए ।
एघार पालिकाले भाडाका भवनबाट ०७३ देखि कार्यालय सञ्चालन गर्दै आएकामध्ये शिवपुरी, किस्पाङ, तादी, दुप्चेश्वर, लिखुले आ.व. ०७९/८० भित्रै भवन बनाएर कार्यालय व्यवस्थित रूपमा सञ्चालन गरिरहेका छन् । ककनी गाउँपालिका आ.व. ०७९/८० को अन्तिमतिर नवनिर्मित प्रशासकीय भवनमा सरेको थियो । उक्त भवनको उद्घाटन पालिकाका अध्यक्ष सुमन तामाङ ‘सज्जन’ले गरेका थिए । आर्थिक वर्ष ०८०/८१ को पहिलो दिन साउन १ गते नै कार्यालयमा सरेको हो । उक्त भवन ०७८ कात्तिक १५ गते ठेक्का लगाइएको थियो । नौ करोड ८२ लाख ४७ हजार चार सय ६४ रुपैपाँको लागत अनुमान रहे पनि ठेक्का प्रतिस्पर्धा हुँदा लागत अनुमानमा झन्डै ५० प्रतिशत घटीमा भएको छ । चार करोड ७९ लाख ३८ हजार तीन सय ९६ रुपैयाँमा सम्पन्न भएको छ । अहिले ककनीले आफ्नै भवनबाट सेवा दिइरहेको छ । ककनीले कार्यालय सञ्चालनका लागि मासिक डेढ लाख रुपैयाँभन्दा बढी घरभाडा तिर्दै आइरहेको थियो । ककनीको नवनिर्मित तीनतले भवनमा बैठककक्ष र सभाहलसहित २१ वटा कोठा रहेका छन् । जिल्लाका पाँच पालिकाले गत वर्ष नै भवन निर्माण गरी आफ्नै भवनबाट सेवा सञ्चालन गरिरहेका छन् । नवनिर्मित प्रशासकीय भवन तामझामका साथ किस्पाङ र तादीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, दुप्चेश्वरले सङ्घका सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, शिवपुरीले पूर्वराष्ट्रपति डा. रामबरण यादव र पञ्चकन्या गाउँपालिकाले गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गराएका थिए भने ककनीले तामाझाम नगरी अध्यक्ष आफैँले भवनको उद्घाटन गरेर सेवा सञ्चालन गरिरहेका छन् ।
राज्य पुनर्संरचनापछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भएको एक वर्ष बितिसक्दा पनि सूर्यगढी र लिखु गाउँपालिकाले बर्सेनि प्रशासकीय भवन निर्माणका लागि बजेट छुट्याइरहेका छन् । सूर्यगढी र लिखुले सात वर्षदेखि परिषद्बाट बजेट छुट्याइरहे पनि प्रशासनिक भवनको निर्माण गर्ने भन्ने विषयलाई टुङ्ग्याउन सकिरहेका छैनन् । यी दुई पालिकामा भौगोलिक एवम् राजनीतिक रूपमा स्वार्थ बाझिँदा प्रशासकीय भवन निर्माण अझ पेचिलो बन्दै गएको छ । जिल्लाको १२ पालिकामध्ये विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाको भने सात वर्षको अवधिमा भवन निर्माणको चरणमा रहेको जिल्ला समन्वय समितिले जानकारी दिएको छ । म्यागङ गाउँपालिकाको भवन निर्माण असारमै सम्पन्न भए पनि कार्यालय सार्ने साइत जुरेको छैन ।