राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान लिखुमा सुरु

  • त्रिशूली प्रवाह
  • ११ श्रावण २०८०, बिहीबार ११:५८

लिखु, राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान लिखु गाउँपालिकाको वडास्तरबाट थाल्न वडाध्यक्ष र कर्मचारीलाई गत हप्ता अभिमुखीकरण गरिएको छ ।

लिखु गाउँपालिकाको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा, सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारी, प्रशासकीय अधिकृत सुरेश खतिवडा र इन्द्रबहादुर खतिवडा, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डित, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलबहादुर थापा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका इन्जिनियर अबुद अलीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, उपाध्यक्ष ईश्वरी अधिकारी उप्रेती, ६ वटै वडाको वडाध्यक्ष, सचिव, वडासदस्य, पालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीलगायत सरोकारवाला सहभागी भएर राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि आवश्यक तयारीलाई सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा राष्ट्रिय परिचयपत्रको विवरण दर्ताको गर्न आवश्यक प्रक्रियासहित दिएको प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी थापाले सेवा प्रवाहलाई सहज बनाई दर्ता अभियान गर्नुपर्ने बताए । राष्ट्रिय परिचयपत्र दर्ता अभियानलाई सबैले सघाउनुपर्ने लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकरकुमार साहले बताए । अहिले देशव्यापी अभियान जारी छ । राष्ट्रिय परिचयपत्र दर्ता विवरण अभियानलाई सघाउन गाउँपालिकाको साथ, सहयोग रहने उनले बताए । लिखुमा यसै साताबाट ६ वटै वडा कार्यालयमा प्राविधिक, रुजु अधिकारी बसेर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिरहेका छन् । राष्ट्रिय परिचयपत्रको दर्ता विवरण सङ्कलनमा सहभागी भएर सेवा लिन र उक्त अभियानमा नागरिकतासम्बन्धी समस्याबारे प्रशासकीय अधिकृत सुरेश खतिवडाले जानकारी गराए ।