विदुर, दैनिक पत्रपत्रिकामा बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदर, लिलामी र कालोसूची विवरणको सूचनाबाट वाक्क–दिक्क भएका नुवाकोटका उद्योगी व्यवसायीले नुवाकोट उद्योग वाणिज्य सङ्घलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तीय सङ्घ-संस्थाको बढेको ब्याजदर, म्याद थप नगरीकन लिलामी प्रक्रिया थालेको र नवीकरण गर्नका लागि किस्ता र ब्याज तिर्न सरलीकृत नगरी कालोसूचीमा राख्न थालेकाले उद्योगी–व्यवसायी त्रसित बनिरहेका छन् । केही व्यवसायीले बैंकको आतङ्कको कारण आत्महत्यासमेत गरेका छन् । सोमबार नुवाकोट उद्योग वाणिज्य सङ्घले विदुरमा गरेको उद्योगी–व्यवसायी र बैंक तथा वित्तीय संस्थाबीचको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले बैंकको आतङ्कले त्रसित बन्नुपरेको बताएका थिए ।
सङ्घको आयोजनामा भएको अन्तरक्रियामा उद्योगी–व्यवसायीले ०७२ को भूकम्प र कोरोना महामारीले उद्योग–व्यवसाय दिनप्रति दिन धराशायी बन्दै गएको, अहिले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढाउने, लिलाम गर्ने र कालोसूचीमा राख्ने होडबाजीले जिल्लाका व्यवसायी थप सङ्कटमा परेका होटेल व्यवसायी वासु अधिकारीले बताए । सो कार्यक्रममा उद्योगीद्वय सुदर्शन दुवाल र रघुनाथ रिमालले बैंकको ब्याजदर स्थिर नभएकाले उद्योग सञ्चालन गर्न नसकिने अवस्था रहेको बताए । अहिले कोरोना महामारी तथा रूस र युक्रेन युद्धको कारण चरम आर्थिक मन्दी भएकाले उत्पादित सामान बिक्री हुन नसक्दा उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूले बताएका थिए । सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठको सभापतित्व र महासचिव उपेन्द्र बुढाथोकीले सञ्चालन गरेको अन्तरक्रियामा काष्ठ व्यवसायी मुक्तबहादुर बोगटी, हार्डवेयर व्यवसायी तेजबहादुर प्याकुरेल, खाद्य किराना व्यवसायी धर्मभक्त श्रेष्ठ, पोल्ट्री व्यवसायी राजेन्द्र रिजाल, सहकारीकर्मी गोकर्णनाथ न्यौपानेलगायतले बैंकको बढेको ब्याजदर र अन्य सेवाशुल्क र राज्यको विभिन्न निकायले विभिन्न शीर्षकमा लिइरहेको करको कारण ‘गर कि मर’को अवस्थामा व्यवसायी रहेको बताएका थिए । सो कार्यक्रममा सहभागी निजी बैंकहरूको तर्फबाट नबिल बैंकका शाखा प्रबन्धक श्रीराम नेपालले ब्याजदर बढाउने बैंकको रहर नभएर बाध्यता भएको बताएका थिए । बैंकको बढेको ब्याजदर, नवीकरण र अन्य सेवा, शुल्क घटाउनेबारे अन्तरक्रियामा उठेका समस्या र गुनासो समाधानका लागि जिल्लामा रहेका सबै बैंकले केन्द्रमा अनुरोध गरी पठाउने प्रतिबद्धता जनाए । कार्यक्रममा सहभागी भएकामध्ये सरकारी बैंकका प्रतिनिधिको तर्फबाट कृषि विकास बैंकका शाखा प्रबन्धक ध्रुव कुँइकेलले व्यावसायिक पीडा बुझेर पनि सहयोग गर्न नसक्ने अवस्थामा रहेको बताए । बैंकले लगानी गरेर नाफाको रकमले बाँच्नुपर्ने भएकाले नियमानुसार लगानी गर्ने र ऋण उठाउनुपर्ने बाध्यतामा आफूहरू रहेको उनले बताए । राष्ट्रियस्तरको ‘क’ वर्गका स्ट्यान्डर्ड चार्टर्ड बैंकबाहेक सबै बैंकको शाखा रहेको नुवाकोटमा लगभग नौ अर्ब निक्षेप सङ्कलन र १४ अर्ब लगानी रहेको सानिमा बैंक शाखा विदुरका प्रबन्धक मधुप्रकाश खतिवडाले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । अन्य जिल्लाको तुलनामा नुवाकोटमा न्यून ऋणीको नाम मात्र कालोसूचीमा रहेकोसमेत उनले दाबी गरे ।
कर्जाको मागमा आएको कमीलाई सुधार गर्न उद्योगी–व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाले ऋणीको सहमतिमा कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न दिनुपर्ने, पुनर्कर्जाको सुविधा उपलब्ध गराउनुपर्ने, ब्याजमा न्यून प्रिमियम राख्न जिल्लाका उद्योगी–व्यवसायीका तर्फबाट सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले उक्त कार्यक्रममा प्रस्ताव राखे । विगतमा जिल्लाको पहिचान बनाउन सफल रेन्बो ट्राउट माछापालन, स्ट्रबेरी तथा मुलाखेती गर्न, पशुपालन र कुखुरापालनमा बैंकले दिँदै आएको ब्याज अनुदानको सुविधालाई अहिले कटौती गरेकाले त्यसलाई कटौती नगरी निरन्तरता दिन जिल्लामा रहेका बैंकहरूलाई केन्द्रमा प्रस्ताव पठाउन आग्रह गरे । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले व्यवसायीको समस्यालाई बैंकहरूले बुझेर ऋण र ब्याज तिर्ने समय सरलीकृत गर्नुपर्नेमा जोड दिए । आर्थिक गतिविधि शून्य रहेको अहिलेको अवस्थामा उद्योगी–व्यवसायीलाई त्रसित बनाउनेभन्दा पनि काम गर्ने उत्साह बढाउने गरी बैंकहरूले कार्यक्रममा ल्याउन उनले सुझाव दिए । विदुर कर परामर्श सेवाको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटा, नुवाकोट चेम्बर अफ कमर्सका महासचिव केशव मिश्र, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य ताराबहादुर कार्की, नेपाल उद्योग वाणिज्य सङ्घका बागमती प्रदेशकी सदस्य गीता अमात्यले जिल्लामा उद्योगी–व्यवसायीको ब्याजदरलगायतको गुनासोलाई सकारात्मक ढङ्गले केन्द्रमा पु¥याइदिन बैंकका प्रतिनिधिलाई आग्रह गरेका थिए । कार्यक्रममा उठेका सुझावलाई महासङ्घमार्फत बैंकको नीति, नियम बनाउने तहसम्म पु¥याउने प्रतिबद्धता सो कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य एवम् जिल्ला नगर परिषद्का उपसभापति ताराबहादुर कार्कीले जनाएका छन् ।
जिल्लाका उद्योगी–व्यवसायीले उपभोग गरिरहेको कर्जाको साँवा, ब्याज समयमा भुक्तानी गर्न व्यवसाय चलायमान नहुँदा अहिले सकिरहेका छैनन् । व्यापार, व्यवसायमा कोरोना महामारीको असर कायम नै रहेको, रुस–युक्रेन युद्ध जारी रहँदा उत्पन्न विषम परिस्थिति र आर्थिक सङ्कटले राम्रो व्यवसाय गरिरहेकाहरूको पनि नाफा घटेको, काम गर्न असहज परिस्थिति आएकाले बैंकसँग अन्तरक्रिया कार्यक्रम गरिएको सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । व्यवसायीको नियत खराब नभई आर्थिक मन्दीको कारण समयमा बैंक तथा वित्तीय संस्थाको ऋण बुझाउन नसकेको बताउँदै उनले व्यवसायीको मागलाई बैंकको केन्द्रीय कार्यालयमा पु¥याइदिन आग्रहसमेत गरे ।