राष्ट्रिय परिचयपत्र वितरण सुरु

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार ११:४९

विदुर, जिल्ला प्रशासन कार्यालय नुवाकोटले तीन वर्षअघि सङ्कलन गरेको राष्ट्रिय परिचयपत्र विवरणको डिजिटल कार्ड गत बिहीबारदेखि वितरण सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले ०७७ असार ३१ गतेदेखि राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन सुरु गरेको थियो । तीन वर्षदेखि सङ्कलन गरिएको विवरणको आधारमा तयार भएको राष्ट्रिय परिचयपत्रको डिजिटल कार्ड गत बिहीबारदेखि वितरण थालेको हो । तयार भएर जिल्ला प्रशासन कार्यालयमा आएको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण कार्यको शुभारम्भ बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत र राधिका तामाङको उपस्थितिमा गरेका थिए । सो कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र उपमेयर प्रभा बोगटीसहितका जनप्रतिनिधिको सहभागिता रहेको थियो । नागरिकको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी राष्ट्रिय परिचयपत्रका लागि जिल्लाका ४४ हजारभन्दा बढीको विवरण सङ्कलन गरिसकेको प्रमुख जिल्ला अधिकारी किरण थापाले सो अवसरमा जानकारी दिए । सङ्कलन विवरणअनुसार तयार भएर आएकोे १४ सय ८१ जनाको राष्ट्रिय परिचयपत्र वितरण थालिएकोसमेत उनले बताए । ०८० जेठ १२ गतेदेखि जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए । राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्य म्यागङ, दुप्चेश्वर, किस्पाङ र तारकेश्वरमा सम्पन्न भई लिखु गाउँपालिकामा गत हप्तादेखि सुरु भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।