युवा सङ्घको एकमहिने वृक्षरोपण अभियान

‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षरोपण कार्यक्रम’ शुभारम्भ

  • त्रिशूली प्रवाह
  • १९ श्रावण २०८०, शुक्रबार १३:११

धुन्चे, ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नाराका साथ नेकपा एमालेको जनवर्गीय सङ्गठन युवा सङ्घ नेपाल रसुवाको आयोजनामा साउन १२ गतेदेखि एकमहिने वृक्षरोपण अभियान सुरु भएको छ । उक्त अभियान अवधिमा ‘एक युवा पाँच बिरुवा, एक कमिटी एक वृक्षरोपण कार्यक्रम’ कार्यान्वयन गरिने जनाइएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपाल, उत्तरगया गाउँ कमिटीको आयोजनामा उत्तरगया गाउँपालिका–२ मा अवस्थित पर्यटकीयस्थल भांगे झरनामा रहेको फोहोर व्यवस्थापन कार्य सुरु गरिएको छ । ‘एक युवा पाँच बिरुवा’ भन्ने केन्द्रीय सर्कुलरअनुसार भांगे झरनावरपर वृक्षरोपण गरिएको युवा सङ्घले जनाएको छ । उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष तथा एमाले नेतृ चमेली गुरुङ, उत्तरगया गाउँपालिका कमिटी अध्यक्ष टुकु सुवेदीलगायत नेता÷कार्यकर्ताको सहभागिता रहेको थियो । संरक्षणमा सबैको हातेमालो गर्दै अगाडि बढेर वातावरण जोगाउनु आजको आवश्यकता रहेको युवा सङ्घ उत्तरगया गाउँ कमिटीले बताएको छ ।