विदुर, देशको अर्थतन्त्र अप्ठ्यारोमा पर्दा पालिकाले प्राप्त गर्ने मालपोत रजिस्ट्रेसन राजस्वको आय पनि घटेको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धले विश्वका सबै देश चरम आर्थिक मन्दीको चपेटामा गुज्रिरहेका छन् ।
नुवाकोटका १२ पालिकाले आ.व. ०७८/७९ को भन्दा आ.व. ०७९/८० मा मालपोत रजिस्ट्रेसन राजस्व कम प्राप्त गरेका छन् । कोरोना महामारी र जारी रुस–युक्रेन युद्धले विश्वभरिका देशको आर्थिक अवस्था थिलथिलो पारेको छ । कोरोना महामारी र रुस–युक्रेन युद्धले थलिएको आर्थिक क्षेत्र नेपाल सरकारले जारी गरेको भूउपयोग ऐन नियमावली, २०७९ लागू भएपछि पालिकाले चार किल्ला सिफारिस गर्दा जग्गाको वर्गीकरण गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्था रहेको छ । यो व्यवस्थाले गर्दा पालिकाले जग्गा वर्गीकरण समयमा नहुँदा जग्गा खरिद, बिक्रीमा असर परेको थियो । नयाँ भूउपयोग नियमावलीअनुसार पालिकाले जग्गालाई कृषि र गैरकृषिमा वर्गीकरण गरी पठाउनुपर्ने कानुनी प्रावधानले जग्गा कित्ताकाट झन्डै एक वर्ष रोकिएको थियो । यो वर्ष राष्ट्र बैंकले जारी मौद्रिक नीति केही खुकुलो गरेकाले रजिस्ट्रेसन राजस्व बढ्ने अपेक्षा पालिकाले गरेका छन् । मालपोत कार्यालयले सङ्कलन गर्ने घर–जग्गा रजिस्ट्रेसन शुल्कमध्येबाट प्रदेशले ४० र पालिकाले ६० प्रतिशत रकम बाँडफाँट गरी पाउने कानुनी व्यवस्था रहेको छ । प्रदेश र पालिकाले बाँडफाँटबाट प्राप्त गरेको रकमबाट मालपोत भूमि सुधार र नापी कार्यालयको संस्थागत सुदृढीकरण तथा श्रेस्ता व्यवस्थापनका लागि दुई प्रतिशत कट्टा गरी प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्नेछ ।
नुवाकोटमा जग्गाको कारोबारमा आएको मन्दीले पालिकाले प्राप्त गर्ने मालपोत रजिस्ट्रेसन राजस्वमा आ.व. ०७८/७९ को भन्दा आ.व. ०७९/८० मा लगभग ३७ प्रतिशत घटेको छ । आ.व. ०७८/७९ मा १९ करोड २६ लाख ४६ हजार चार सय ५६ रजिस्ट्रेसन दस्तुर असुली भएकोमा आ.व. ०७९/८० मा घटेर ११ करोड ५१ लाख १८ हजार चार सय ७८ मात्र भएको मालपोत कार्यालयले जानकारी दिएको छ । आ.व. ०७८/७९ मा भन्दा आ.व. ०७९/८० मा मालपोतबाट रजिस्ट्रेसन दस्तुर सात करोड ७५ लाख २७ हजार नौ सय ७८ कम असुली भएको छ । यसमध्ये ०८० असार २१ गतेपछि उठेको रजिस्ट्रेसन राजस्व ७० लाख बाँडफाँट हुन बाँकी रहेको मालपोत कार्यालयका राजस्व शाखाले जानकारी दिएको छ । स्थानीय पालिकाको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको मालपोत कार्यालयको राजस्वमा गिरावट आएसँगै पालिकाको आम्दानीसमेत घटेको हो । आम्दानी घटेकाले पालिकाले गर्ने विकास निर्माण कामसमेत प्रभावित भइरहेका छन् ।