- शरण उत्सुक सापकोटा
विदुर, कृषि, व्यवसाय र पशुपालन गर्ने वास्तविक किसानले हत्तपत्त सरकारी सुविधा र सहुलियत पाउँदैनन् । कृषि र पशुपालन गर्ने किसानले सरकारी सुविधा लिन कि बिचौलिया गुहार्नुपर्ने हुन्छ, कि पहुँच नै पु¥याउनुपर्ने बाध्यता रहेको छ । बर्सेनि सरकारले कृषि कर्म गर्नेका लागि करोडौँ रुपैयाँ नगद र औजार, उपकरण वितरण गर्ने गरे पनि वास्तविक किसान सरकारी सुविधा लिनबाट वञ्चित हुने गरेको धेरै गुनासो आइरहेको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–११ अमारेखोलामा कृषि व्यवसाय गरिरहेका अमृत तिवारी यस्ता कृषि व्यवसायी हुन् जसले कृषि फार्म थालेको १० वर्ष बित्यो । अहिलेसम्म बैंकको ऋण र आफ्नो गरी पाँच करोडभन्दा बढी लगानी गरेर मजुवादेवी कृषि फार्म सञ्चालन गरिरहेका छन् । उनको एक सय २५ रोपनी जग्गामा सञ्चालित फार्ममा पाँच सयवटा बोयर जातका बाख्रा, एक सय ५० सेरना जातको मौरीको गोला, पाँच सयवटा कालिजसहित एक सय २० रोपनी जग्गामा घाँसको बिरुवा, नर्सरीसहित घाँसखेती भइरहेको छ । आफ्नै बलबुतामा फार्म सञ्चालन गरिरहेका तिवारीले प्रभु बैंक नुवाकोटबाट साढे तीन करोड ऋण लिएर फार्मलाई विस्तार गरेका छन् । उनले एक सय २० रोपनी जग्गा भाडामा लिएर आजभन्दा दश वर्षअघि १८ वर्षको उमेरमा कृषि तथा पशुपालनलाई व्यवस्थित गर्ने लक्ष्य बनाएर व्यवसाय थालेका थिए । राजनीतिलाई कमाइखाने भाँडोको रूपमा दलका नेताहरूले बनाएपछि उनीजस्ता हजारौँ युवा बिदेसिइरहेका छन् । उनी पनि सरकारी जागिरका लागि नेताको पछि लाग्दा–लाग्दै थकित भएर कृषि व्यवसाय अंगाल्न पुगेका हुन् । उनलाई सरकारी जागिर खान १०–१२ लाख नेता भन्नेले मागेको त्यो दिन नसक्दा जागिर नपाएको, आफूसँगै स्नातक पढ्दै गरेका साथी ऋण नै लिएर विदेश पलायन हुन थालेपछि नेपालमै केही गर्नुपर्छ भन्ने सोच आएको बताउँछन् । त्यही सोचलाई सार्थक बनाउन उनी ०७० सालदेखि तल्लीन छन् । १० वर्षअघि झण्डै १० लाख लगानी गरी १९ वटा स्थानीय जातको बाख्राबाट व्यवसाय सुरु गरेका तिवारीको फार्ममा अहिले पाँच सयभन्दा बढी बोयर जातका बाख्रा रहेका छन् । व्यवस्थित खोर बनाई व्यवस्थित तरिकाबाट सञ्चालन गरिएको तिवारीको फार्म जिल्लामै बाख्राका लागि नमुना फार्म हो । उनको फार्मबाट उत्पादित बोयर जातका पाठा–पाठी ६८ जिल्लामा पुगेका छन् । निर्वाहमुखी बाख्रापालनबाट कृषकको जीवन धौधौ परेकाले विदेशबाट उन्नत जातका बाख्रा, बोका ल्याएर नश्ल सुधार गरी प्रज्जनन बोका तथा बाख्रा बिक्री गर्ने उद्देश्यले तिवारीले फार्म सञ्चालन गरेका थिए । दश वर्षअघिदेखि बाख्रापालनमा रमाइरहेका तिवारीले उन्नत जातका बोका, पाठा–पाठी बिक्री गरेर वार्षिक ३० लाखभन्दा बढी मुनाफा कमाइरहेका छन् । उनले फार्मबाट बाख्रापालन, मौरीपालन, कालिजपालनको निःशुल्क तालिम र परामर्श सेवासमेत दिइरहेका छन् । बाख्रा, मौरी र कालिजपालनका लागि उनको फार्मबाट निःशुल्क तालिम परामर्श लिएर देशका धेरै किसानले व्यवसाय सुरु गरिरहेका छन् । विदेशबाट तीन–चार लाख पर्ने बोयर बोका ल्याएर ठिमा बोयर बाख्राको पाठा–पाठी बिक्रीसमेत गरिरहेका छन् ।
नेपालमा व्यावसायिक बाख्रापालनमा संलग्न कृषकको भेला गरेर उनको पहलमा नेपाल व्यावसायिक बाख्रापालक महासङ्घ बनेको छ । उक्त महासङ्घको एक कार्यकाल महासचिवको जिम्मेवारी बहन गरेका तिवारी त्यसपछि आफ्नै व्यवसायको विस्तार र विकासमा दिनरात तल्लीन छन् । आजसम्म घरपरिवारबाट पाएको हौसला र सहयोगले कृषि फार्म सञ्चालन गर्न सफल भएको उनले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए । तिवारीले बाख्रासँगै मौरी, कालिजपालन र पशुका लागि पोषिलो घाँसको खेती र नर्सरीसहित बिउ उत्पादन गरेर थप आम्दानी लिइरहेका छन् । उनले फार्ममा ५० वटा रिङनेक जातको कालिजबाट सुरु गरेकोमा अहिले पाँच सयवटा रहेका छन् । फार्मबाट कालिजको अण्डा, चल्ला र मासुका लागि योग्य कालिज बिक्री गरेर आम्दानी गरिरहेको उनी बताउँछन् । त्यसैगरी, उनले पहिलोपटक जिल्लामा व्यावसायिक घाँसखेती गरेर अहिले लाखौँ आर्जन गरिरहेका छन् । तीन रोपनी जग्गामा सुरु गरेको घाँसखेतीलाई अहिले उनले एक सय २० रोपनी जग्गामा विस्तार गरेका छन् । उनले फार्ममा भुइँघाँस, डालेघाँस, बुट्यान घाँसका बिरुवासहित कोसेघाँस र अकासेघाँस गरी ६० प्रजातिका घाँसका बिरुवा, बिउ उत्पादन गरी नेपालका ४० भन्दा बढी जिल्लामा बिक्री गर्ने गरेका छन् । आजभोलि पढेलेखेका युवा पशुपालन र खेतीलाई पेसा नै मान्दैनन् । तर, तिवारीले स्नातक पढ्दा–पढ्दै कृषि फार्म खोलेर नेपालमै पहिलोपटक फिल्डमै बाख्रापालनको व्यावहारिक र प्रयोगात्मक तालिम कृषकलाई दिइरहेका छन् । उनले आफैँले तयार पारेको बाख्रापालनसम्बन्धी पाठ्यक्रमबाट तीनदिने तालिम दिँदै आएका छन् । उनको फार्ममा नेपालका ६७ भन्दा बढी जिल्ला र भारतको सिक्किम, दार्जिलिङका कृषक बाख्रापालन तालिमका लागि आउने गरेका छन् । उनले फार्ममा खरी, जामुनापारीलगायत जातका बाख्रामा बोयरको नश्ल क्रस गराउँदा उत्पादन राम्रो भएको बताए । ‘यहाँको हावापानीमा खरी जातको बाख्रा राम्रो हुनेरहेछ, बोयर र खरी जातको क्रसले निरोगी बाख्रा उत्पादन हुन्छ,’ उनले भने, ‘बोयरको पनि उत्पादन राम्रो छ, तर किन्दा महँगो, बेच्दा सस्तो भएकाले आम्दानी सन्तोषजनक नहुँदा समस्या परिरहेको छ ।’
उनले सहयोगका लागि आफ्नो फार्मबाट नगरपालिका भेटेरेनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तथा कृषि कार्यालय, प्रदेशस्थित कृषि मन्त्रालयलगायतमा प्रस्ताव पेस नगरेका होइनन् । तर, नजिकैका ‘देखावटी’ कार्यकर्तामुखी झोले फार्मले बर्सेनि अनुदान पाउने गरेका छन् । उनलाई आजसम्म सरकारी र गैरसरकारी कृषिसँग सम्बन्धित सङ्घ–संस्थाले पत्याउन सकेका छैनन् । ‘अनुदानकै लागि मात्र कृषि र पशु फार्म खोल्नेहरू जिल्लाभरि भेटिन्छन्,’ उनले भने, ‘अनुदान दिनेले अनुगमन गर्ने दिन गाउँभरिका बाख्रा भेला गरेर आफ्नो फार्ममा देखाउनेहरूसमेत जिल्लामा बाख्रापालन गर्ने कृषकको रूपमा पुरस्कृत र अनुदान लिनेको सूचीमा पर्छन् । मैले त १० वर्षदेखि निरन्तर गरेको व्यवसायलाई सरकारी निकाय र दाताले पत्याउँदैनन् ।’ उनले घरपरिवारबाहेक फार्ममा तीनजनालाई रोजगारी दिएका छन् । बैंकबाट ऋण लिएर भए पनि कृषि फार्म सञ्चालन गरेर बिदेसिन खोजेका युवालाई कृषिकर्म गर्न सिकाइरहेको तिवारीले बताए । राज्यले व्यावसायिक किसानलाई परिचयपत्र दिलाई उत्पादित वस्तु र सामग्रीको बजार सुनिश्चित गरिदिन उनले आग्रहसमेत गरेका छन् । बर्सेनि सरकारले कृषि क्षेत्रमा लगानी गर्ने बजेट छुट्याइरहे पनि वास्तविक किसानसम्म बजेट नपुगेको गुनासो गर्नेको सङ्ख्या देशमा ठूलै रहेको छ । कृषिलाई राज्यले बर्सेनि बजेट वृद्धि गरिरहे पनि कृषि उत्पादनले नेपालको मागलाई धान्न नसकेपछि आयातको आकार बर्सेनि बढिरहेको नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् पोल्ट्री व्यवसायी धननारायण चित्रकार बताउँछन् । वास्तविक किसानले अनुदान र सहुलियत लिन नसक्दा कृषिमा राज्यले बर्सेनि करोडौँ अनुदान दिए पनि उत्पादन बढ्न नसकेको उनले बताए ।






प्रतिक्रिया