साउन २८ देखि निजी विद्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा

  • त्रिशूली प्रवाह
  • २५ श्रावण २०८०, बिहीबार ११:४५

विदुर, सरकारले विद्यालय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा पेस गर्ने तयारी गरेपछि निजी विद्यालय सञ्चालक विधेयकको विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् । विद्यालय शिक्षा विधेयकलाई लिएर निजी विद्यालय सञ्चालकले साउन २८ गते आइतबारदेखि अनिश्चितकालसम्मका लागि निजी विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।

मंगलबार पत्रकार सम्मेलन गर्दै प्याब्सन, नेसनल प्याब्सन र हिसानले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै विद्यालय बन्दको घोषणा गरेका हुन् । सरकारले विद्यालय शिक्षा ऐनको विधेयक मन्त्रिपरिषद्बाट पारित गरी संसद्मा पेस गर्ने तयारी गरेको छ । प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले सरकारले निजी विद्यालयलाई निरुत्साहित र नियन्त्रण गर्ने गरी कानुन निर्माण गर्न लागेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए । उनका अनुसार २४ साउनमा देशभरका पालिका, शिक्षा समन्वय एकाइ र सबै प्रदेशमा ज्ञापनपत्र बुझाउने, २५ साउनमा माइतीघर मण्डलामा प्रदर्शन गर्ने, २६ साउनमा सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने र २८ साउनदेखि निजी विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने तयारी गरिएको छ । केन्द्रको निर्देशनअनुसार प्याब्सन नुवाकोटले बुधबार जिल्ला प्रशासन कार्यालय नुवाकोट, शिक्षा समन्वय एकाइ नुवाकोट र विदुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । प्याब्सन नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी किरण थापा, शिक्षा समन्वय एकाइका प्रमुख देवकुमार बडाल र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन् । केन्द्रले घोषणा गरेको अन्य विरोधका कार्यक्रमको समर्थन गर्दै साउन २८ देखि जिल्लाका सम्पूर्ण निजी विद्यालय बन्द गरिने सचिव पुरुषोत्तम अधिकारीले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए । शुक्रबार शिक्षासँग सरोकारवाला राख्ने सङ्घ-संस्था र व्यक्तिको सहभागितामा विद्यालय शिक्षा ऐनको विधेयकबारे जिल्लामा बृहत् अन्तरक्रिया गर्नेसमेत कार्यक्रम रहेको उनले बताए ।