+
Search

ताजा अपडेट +

पपुलर +

नसर्ने रोग र मानसिक समस्याप्रति सावधानी अपनाउन १२ बुँदे प्रतिबद्धता

नसर्ने रोग र मानसिक समस्याप्रति सावधानी अपनाउन १२ बुँदे प्रतिबद्धता
त्रिशूली प्रवाह
३ साल अगाडी

धुन्चे, नसर्ने स्वास्थ्य रोगका साथै मानसिक समस्याप्रति पूर्ण सावधानी अपनाउँदै दैनिक जीवयापनमा सहजता ल्याउन जिल्लाबाट दिइने थप सेवाका विषयमा १२ बुँदे प्रतिबद्धता जाहेर सरोकारवालाले गरेका छन् ।

Utsuk Books & Stationery
Satkar Machinery Center

बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले तयार पारेको उक्त प्रतिबद्धतापत्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन जिल्लाका सरोकारवाला निकायसामु स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले साउन १६ गते मंगलबार सार्वजनिक गरेको थियो । स्वास्थ्य निर्देशनालय इपिडिमियोलोजी महाशाखा काठमाडौं, जिल्ला स्वास्थ्य कार्यालय तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा राष्ट्रिय मानसिक स्वास्थ्य सेवा सुदृढीकरणअन्तर्गत नसर्ने रोग रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाबारे स्थानीय सरकारलगायत सरोकारवाला निकायलाई जानकारी गराइएको थियो । स्वास्थ्यमा देखापर्ने असरलाई मध्यनजर गरी प्लास्टिकजन्य फोहोर खुला ठाउँमा जलाउन नदिइने उल्लेख गरिएको छ । दूरदराजका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा निरन्तर सन्तुलन राख्न स्वास्थ्य विशेषज्ञको रायसमेत लिई उक्त घोषणा गरिएकाले प्रतिबद्धता कार्यान्वयनमा तीनै तहका सरकारद्वारा पूर्ण रूपमा सहयोग मिल्नेमा आफू आशावादी रहेको निर्देशक श्रेष्ठले बताए । जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख विजय लामा, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, उत्तरगया र कालिका गाउँपालिका उपाध्यक्षद्वय चमेली गुरुङ र मीरा तामाङ, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, गाउँपालिकाका प्रशासकीय अधिकृत एवम् पालिकाका स्वास्थ्य एकाइ प्रमुख, विज्ञ चिकित्सकसहितको सहभागितामा बागमती प्रदेशका स्वास्थ्य निर्देशक श्रेष्ठले प्रतिबद्धतापत्र घोषणा गरेसँगै कार्यान्वयन चरणमा प्रवेश गरेको स्वास्थ्य शाखा प्रमुख भीमसागर गुरागाईंले बताए ।

Suzuki New Bike & Scooter

नसर्ने रोग एवम् मानसिक रोग न्यूनीकरण गर्दै लान खानपिनमा सुधार गर्नुपर्ने, धूम्रपान एवम् मादकपदार्थ सेवनलाई निरुत्साहित गर्ने, घरभित्रका धुवाँको न्यूनीकरणलगायत विविध विषय प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । नसर्ने रोग रोकथामका लागि स्थानीय तहका निकायमा संस्थागत संरचना स्थापना गरी कार्यान्वयन गरिने बताइएको छ । सुर्तीजन्य र मादकपदार्थको विज्ञापन प्रवद्र्धन र प्रयोगमा पूर्ण रोक लगाइने, ट्राफिक प्रहरीबाट सवारीचालकको मापसे परीक्षण गराउने, विद्यालय नर्स कार्यक्रमलाई सरलीकरण गरिने, विद्यालय खाजा कार्यक्रमलाई अर्गानिक बनाइनेजस्ता कुरा पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । स्थानीयस्तरको अस्पतालमा महिनाको एकपटक मानसिक रोगको विशेषज्ञ चिकित्सक सेवा दिइने र रसुवा अस्पतालको समन्वयमा ती अस्पतालमा औषधि आपूर्तिको व्यवस्था गराइने उल्लेख छ । घरमा रहेका दीर्घरोगी तथा अशक्तलाई घरघरमै गएर स्वास्थ्य परीक्षण एवम् आवश्यक सामग्रीको व्यवस्थापन गरिने, बहुक्षेत्रीय कार्ययोजनालाई सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यबाट गाउँ स्वास्थ्य अभियान अगाडि बढाइने कार्ययोजना छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह